नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेविसंघद्वारा प्रदर्शन


नेपाल समाचारपत्र, काठमाडौँ ।
नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रदर्शनमा उत्रिएको छ । विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य र नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाहीको माग राख्दै नेवि संघ आन्दोलनमा उत्रिएको हो ।

बानेश्वरस्थित यूनिग्लोबल कलेजअगाडि मंगलबार संघले विश्वविद्यालयको वेतिथीविरुद्ध आन्दोलन गरेको छ । पोखरा विश्वविद्यालय अन्तरगतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेकोले आन्दोलन गर्नुपरेको नेविसंघले जनाएको छ ।

संघका अनुसार कक्षा ११ र १२ मा छुट्टाछुट्टै विषयमा ग्रेड ‘सी’ सम्म ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने नियमविपरित ४२ कलेजले ‘डी प्लस’ ल्याउनेलाई भर्ना गरेको थियो ।

‘विश्वविद्यालयका यी सबै वेथितीका प्रमुख कारक तत्व दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त भएको संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताउनुभयो । उहाँले विश्वविद्यालयका पदाधिकारी राजनीतिक दलको कार्यकर्ता र कलेजवाला चन्दादाता भएकाले यो समस्या आएको बताउनुभयो ।

आन्दोलनमा संघले विभिन्न व्यंग्यात्मक गीत गाउनुका साथै प्ले कार्डसहित प्रदर्शन गरेकाे थियाे । दोषी कलेजलाई कारबाही नहुन्जेल आन्दोल जारी रहने नेता मनिष सिंखडाले बताउनुभयो । सिंखडाका अनुसार अन्त्यमा पोखरा विश्वविद्यालयमा पनि आन्दोलन हुनेछ ।

पोखरा विश्वविद्यालय अनियमितताः नेविसंघद्वारा सिंहदरबार गेटमा प्रदर्शन