को पहिले बोल्ने विवादले संसद बैठक स्थगित


गंगा बराल, काठमाडौं ।
को पहिले बोल्ने बिबादले प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिले बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयको बिबादले प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको हो । प्रधानमन्त्री बोल्नका लागि रोष्ट्रममा गएपछि कांग्रेसले आफूले पहिले बोल्न पाउनुपर्ने भन्दै रोष्ट्रम घेराउ गरेको थियो । यूरोप भ्रमण सकेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले आज बोल्ने भन्ने हिजो नै टुंगो लागेको थियो ।

तर आज बैठक सुरु हुनुभन्दा पहिले बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले पहिले आफूले बोल्न पाउनुपर्ने प्रस्ताव गरेको थियो । बैठकमा के गर्ने भन्ने टुंगो नलागेपछि जे होस् भनेर संसद बैठक बसेको सचिवालयले जनाएको छ । नेता देउवाले संसद प्रतिपक्षीको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता नै भएकाले आफूले पहिले बोल्न पाउनुपर्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्रजिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो । ‘म यो घटनालाई दुवै पक्षको गैह्र जिम्मेवार व्यवहार ठान्दछु , प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमुल्य समय खेल फाल्नु जनताको अभिमतको दुरुपयोग हो, म चाही यसको तिब्र भत्र्सना गर्दछु’ उहाँले भन्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाउनुभएको छ । सांसद भट्टराईले प्रधानमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय व्यवस्थामाथि नै धावा बोलेको दाबीसमेत गर्नुभयो । उहाँले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको प्रतिक्रिया पनि दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनुभयो । संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराईनुपर्ने बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो ।

संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद सधै ‘प्रतिपक्षी दलको हो’ भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपथ्र्यो, नसुनेको कारणले गर्दा संसदको अवस्था यस्तो भयो, रोष्टम घेरियो, बैठक स्थगित पनि भो, प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन’ कर्णले भन्नुभयो ‘ कुनैबेला सभामुख दमननाथ ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए, त्यसलाई पनि हामीले आफ्नो परम्पराका रुपममा लिनुपर्छ, बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छँदै थियो नि, प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन ।’

प्रतिनिधिसभाको अर्को बैठक भोलि ११ बजे बस्ने छ । संसदमा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ ।