घरेलु मदिरामा थोत्रा कपडा र मरेको मुसाको प्रयोग, वितरणमा प्रतिबन्ध

0
Shares

नेपाल समाचारपत्र, पर्वत।

जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा र आसपासका क्षेत्रबाट बरामद गरेको ठूलो परिमाणको अबैध घरेलु मदिरामा मरेका मुसा र थोत्रा कपडा भेटिएको छ ।

प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडामा बरामद भएको मदिरा बनाउने तयारी कच्चा झोलमा मरेका मुसा र थोत्रा कपडा लगायतका बस्तु भेटिएको हो ।
प्रहरीले झण्डै १ हजार ६ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।

बरामद गरिएको मदिरा तयार गर्नका लागि मर्चा हालेर राखिएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटिएको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका वडा नं. ४, ५ र ६ मा छापा मारेर अबैध घरेलु मदिरा बरामद गरेको थियो । प्रहरीले केही मात्रामा तयारी अवस्थामा रहेको मदिरा र बढी मात्रामा मदिरा बनाउनका लागि मर्चा प्रयोग गरेर कुहाइएको अवस्थामा राखिएको तरल पर्दार्थ सहितको लेदो बरामद गरेको छ ।

बजारमा छापा मारेर घरेलु मदिरा बनाउन प्रयोग गरिने ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस अगाडि पनि पटक पटक पनि घरेलु मदिरा उत्पादन नगर्न अनुरोध गर्दै कुश्मा बजार सहित दोबिल्ला, डिमुवा, पातिचौर, छमर्के लगायतका ठाउँमा छापा मारेर घरेलु मदिरा नष्ट गरिएको भएपनि अबैध रुपमा मदीरा उत्पादन गर्ने क्रम नरोकिएपछि छापा हानेर नै बरामद गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

मोदीमा कम गुणस्तरका मदिरा प्रतिबन्ध

यता पर्वत जिल्लाको मोदी गाउँपालिकामा कम गुणस्तरका मदिरा विक्री वितरणमा कडाई गरिएको छ । मदिरा कै कारण मानवीय स्वास्थ्य र सामाजिक जीवनमा असर परेको भन्दै गाउँपालिकाले कम गुणस्तरका मदिरा विक्री वितरणमा कडाई गरेको हो । गाउँपालिकाले प्लाष्टिक बोत्तलमा प्याकिङ भएर बजारमा बिक्रीका लागि आउने मदिरालाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

‘कम गु्णस्तरको मदिराले मानिसको स्वास्थ्यमा गम्भिर समस्या निम्ताउँछ’ मदिरा नियन्त्रण अभियानका संयोजक तथा मोदी २ का वडाअध्यक्ष बिकास तिमिल्सीना भन्नुहुन्छ –‘अपराधमा बृद्धि र पारिवारिक कलह पनि यहि कारण बढिरहेको छ ।’

कम गुणस्तरको मदिराको मूल्य थोरै पर्ने र निम्नआय स्तर भएका सर्वसाधरणले त्यसको प्रयोग गर्ने गर्दछन । त्यसको प्रयोगलाई नियन्त्रण गर्दा गाउँपालिका बासीको स्वास्थ्य, सामाजिक विकृति र अपराध नियन्त्रणमा सहयोग पुग्ने तिमिल्सीनाको विश्वास छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहितको टोली अभियानमा जुटेको छ ।

गाउँपालिका अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको मुख्य बजार क्षेत्र पातिचौर बजार र डिमुवा बजारमा अनगुमन गर्दा झण्डै १५ कार्टुन कम गुणस्तरका मदिराहरु नियन्त्रणमा लिइएको छ । प्रहरी र जनप्रतिनिधि सहितको टोलीले बजार अनुगमन गर्दा भेटिएको कम गुणस्तरको मदिरा नियन्त्रणमा लिइएको वडाअध्यक्ष तिमिल्सीनाले जानकारी दिनुभयो । यस अघि पनि भएको अनुगमनबाट करिब ३० काटुन मदिरा नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएको मदिरा डिमुवा प्रहरी चौकीमा राखिएको छ ।बरामद गरिएको मदिरालाई नष्ट गर्ने वा कम्पनीमा फिर्ता पठाउने भन्ने विषयमा भने कार्यपालिकाले निर्णय गर्ने वडाअध्यक्ष तिमिल्सीनाले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सेती महत भन्नुहुन्छ–‘महिला हिंसा र घरेलु हिंसाको पहिलो कारण मदिरा नै हो ।’ मदिरा नियन्त्रण हुँदै जाँदा पारिवारिक कलह, घरेलु हिंसा र सामाजिक विकृतिमा कमी आउने उपाध्यक्ष महतको भनाई छ ।