डोटीमा बोयर बाख्रा स्रोत केन्द्र स्थापना


विमल विष्ट, डोटी ।
जिल्लाको साबिकको छतीवन गाबिस हाल जोरायल गाउँपालिका वडान. २ रुपसकाडामा बोयर बाख्रा स्रोत केन्द्र स्थापना गरिएको छ । ग्लोबल एग्रीकल्चर एण्डफुड सेक्यूरीटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना डिभिजन पशु सेवा कार्यलय सिलगढी डोटी मार्फत उक्त बोयर बाख्रा स्रोत केन्द्र स्थापना गरिएको हो ।

छतिवनका बाख्रापालक किसानहरुको उत्पादन र उत्पादकत्व बढाई आय आर्जनमा बृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पर्दाथको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको भेटेनरी स्वास्थ्य सेवा तथा पशुसेवा बिज्ञ केन्द्र डोटीका प्रमुख नारायणदत्त पन्तले बताउनुभयो ।

“बाख्रापालक किसानहरुको उत्पादन र उत्पादकत्व बढाई आय आर्जनमा बृद्धि गर्न बिश्व कृषि तथा खाद्य संगठन (एफ.ए.ओ.) मार्फत अष्ट्रेलियाबाट आयातित १३ वटा शुद्ध नश्लका बोयर जातका प्रजनन बोका दुई वर्ष अघि बितरण गरेका थियौ”, उहाँले भन्नुभयो, “अहिले बोयर बाख्रा स्रोत केन्द्र समेत स्थापना गर्न सफल भयौ,मासु जन्यका लागि डोटी सक्षम हुने छ ।”

भेटेनरी स्वास्थ्य सेवा तथा पशुसेवा बिज्ञ केन्द्र डोटीका अनुसार डोटी बाट २३२ वटा क्रस बोयर प्रजनन बोकाहरु यहाँका अन्य पहाडी जिल्लाहरु अछाम, दार्चुला, बैतडीका बिभिन्न समुहहरुमा बिक्रि बितरण गरिएको छ । यसरी बिक्रि गरिएका बोयर प्रजनन बोकाहरु बाट स्थानिय किसानहरुको रु ६८ लाख ४६ हजार आम्दानी भएको सो कार्यालयले जनाएको छ ।

स्थानिय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकोले यहाँका पहाडी जिल्लाहरुमा बोयर जातको प्रजनन बोकाको माग अत्याधिक रहेको पशु प्राबिधिक अधिकृत डाक्टर अर्जुन पण्डितले बताउनुभयो । “बोयर जातको बोका चाडै फष्टाउने भएको र मासु जन्य चिजका लागि अति उत्तम भएकाले यसको माग पनि बढी रहेको छ” उहाँले भन्नुभयो, “अन्य जातको भन्दा यो जातको बोका पाल्नु किसान लाई फाईदा जनक छ ।” स्थानिय किसानका अनुसार बोयर जातका बोकाको बजार मुल्य जिउदै रु ८०० रुपिया केजी रहेको छ ।

पछिल्लो समय यहाँका किसानहरु प्रजनन बोयर बोका पालनमा आकर्षित हुन थालेको छतिवनका स्थानिय भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “छोटो समयमा चाडै फष्टाउने र मासु जन्य चिजमा बोयर बोकाको बढी माग भएकाले किसानहरु प्रजनन बोयर बोकापालनमा आकर्षित भएका छन् ।” जिल्लाका करिब तिन दजर्न बढी स्थानमा अहिले बोयर जातका बोका तथा बाख्रा पालन सुरु भएको छ ।

जताततै बोयर जातका बोका तथा बाख्रापानल सुरु भएपछि जिल्लामा रहेको रैथाने जातका बाख्राहरु क्रमिक रुपमा लोपहुदै जानथालेको शिखरनगरपालिका वडान. १ का किसान स्यामबहादुर नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला भरीमा बोयर बाख्रा पालन सुरु भएपछि हाम्रा गाउँघरमा पाईने पुराना तथा रैथाले जातका बाख्रा हराउन थालेकाछन्,पुराना बाख्राको संरक्षण गर्नु जरुरी भएको छ ।” राम्रो र हष्टपुष्ट बोयर बोका करिब एक क्वीण्टल सम्म हुने गरेको स्थानियको भनाई छ ।