जनप्रतिनिधिले ‘टुक्रे’ योजना मोह त्यागौँ


हिक्मत नेपाली, दैलेख ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले समुदायको आवश्यकता, जनसंख्या र भूगोलका आधारमा बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । दैलेखको नौमूले गाउँपालिकाको प्रगति समिक्षा कार्यक्रममा पुग्नुभएका प्रमुख थापाले आफन्त र नातावाद र पहुँचका आधार बजेट विनियोजन तथा योजना छनोट गर्ने परम्परा बन्द गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहले रोजगार सृजना गरि विदेशीने युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिदै थापाले गाउँपालिकाको केन्द्र देखि हरेक वडासम्मका सडकलाई बाह्रै महिना संचालन हुने बनाउन आग्रह गर्नुभयो । ‘अब धेरै सडक नखन्नुहोस्, सडकमा बजेट विनियोजन गर्ने र बिल मिलाउने काम रोक्नुहोस्, उहाँले भन्नुभयो ‘जथाभावी सडक खनेकै कारण भुक्षय, बाढी पहिरो, पानीका मुहान सुक्ने, वनजंगल मासिने समस्या सृजित भएको छ ।’

नौमूले गाउँपालिकालाई आगामी आर्थीक बर्षमा १० वटा भन्दा धेरै योजना नबनाउन उहाँले आग्रह गर्नुभयो । ‘कम योजना संचालन गर्दा असारे विकास प्रवृति रोकिन्छ,’ उहाँले भन्नुभयो ‘टुक्रे योजना बनाउने मोह जनप्रतिनीधिले त्याग्नुपर्छ ।’ चुनावमा बाँडेको आश्वासन पूरा गर्न दैलेखका स्थानीय तहका जनप्रतिनिधिले बनाएको टुक्रे योजना कार्यान्वयनमा समस्या देखिएको उहाँको दाबी छ ।

कार्यकर्ता पाल्न, समाजका टाठाबाठाको चित्त बुझाउन र सीमित व्यक्तिको स्वार्थका लागि बर्सेनि बजेट छुट्टिने योजनाबाट समुदायले लाभ लिन नसकेका प्रमुख थापाले बताउनुभयो । विगतमा टाठाबाठा व्यक्तिहरुको कमाई खाने धन्दा बनेको टुक्रे योजनालाई स्थानीय तहका जनप्रतिनिधिले समेत निरन्तरता दिन नहुने उहाँको भनाई छ । गाउँपालिकाले गर्न नसक्ने योजनाको डिपिआर निर्माण गरेर प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । चालु आर्थीक बर्ष २०७५÷०७६ मा संचालन हुने योजना असारमा गएर सम्झौता गर्ने प्रवृती रोक्नुपर्ने उहाँको धारणा छ ।

नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढाले सुशासन पारदर्शीता कायम हुने गरि काम गरिरहेको बताउनुभयो । ‘गाउँपालिकाले भ्रष्टाचार विरुद्ध अभियान थालेको छ, उहाँले भन्नुभयो ‘विकासमा जनताको प्रत्यक्ष संलग्नता गराएका छौ ।’ उहाँले जिसस दैलेखको सल्लाह र सुझाव अनुसार जनताका आवश्यकता, भूगोल, जनसंख्याका आधारमा बजेट विनियोजन गर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोइरालाले कर्मचारी अभावका कारण योजना अनुरुप काम गर्न नसकेको बताउनुभयो ।

चालु आर्थीक बर्षको बैशाखसम्म ६ लाख ५६ हजार बराबर राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले हालसम्म गरेको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । गाउँ कार्यपालिकाको बैठकले गरेको निणर्य अनुसार चालु आर्थीक बर्षमा १० लाख भन्दा माथीका योजनाहरुलाई ठेक्का प्रक्रिया मार्फत संचालनमा ल्याएको प्रमुख प्रशासकिय अधिकृत कोइरालाले बताउनुभयो ।

समिक्षामा दिइएको जानकारी अनुसार चालु आर्थीक बर्षमा गाउँपालिकाका विभिन्न वडामा तीन वटा सामुदायिक स्वास्थ्य ईकाइ संचालनमा ल्याईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त ३ हजार २ सय १३ जना वेराजगार युवा युवतीहरुको तथ्यांक संचालन भएको छ । समिक्षामा गाउँपालिकाका विषयत शिक्षा, स्वाथ्य, कृषि शाखाको हाल सम्मको प्रगती प्रस्तुत गरिएको छ । गाउँपालिकाका इन्जिनियर किरण केसीले चालु आर्थीक बर्षमा ९ वटा योजनाहरु ठेक्का प्रक्रिया मार्फत संचालन गरिएको जानकारी दिनुभयो ।

त्यस अघि जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी पदम सापकोटाले प्रगती समिक्षाको उदेश्यबारे प्रकाश पार्नुहुँदै हाल सम्म भएको गतिवीधीबारे अनुगमन, काम गर्दा के कस्ता कठिनाईहरु आए भन्नेबारे सुक्ष्म अध्ययनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नौमूले गाउँपालिकाले जिल्लाका अन्य स्थानीय तहहरुलाई सिकाई हुने र अनुसरण गर्ने खाले काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंह, जिसस दैलेखका सदस्य गिता चन्द लगाएतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।