ढोर दरबार पुनःनिर्माण हुँदै

0
Shares

दमौली ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनःनिर्माण शुरु गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेकाले पुनःनिर्माणको थालिएको हो ।

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको यो दरबारको संरक्षण गर्ने सकिए इतिहासबारे बुझ्न खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् । पछिल्लो समय दरबारलाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना देखेर स्थानीयवासी संरक्षणमा जुटेको ढोर मूलकोट संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँण बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “शुरुमा दरबारको महत्व बुझिएन । अग्रजहरुले पनि संरक्षण गर्न जानेनन् । दरबारको महत्व बुझेसँगै संरक्षणमा जुटेका छौँ ।” दरबारसँगै कुटी, भैरव मन्दिर, खड्ग कालिका मन्दिर र कोटमन्दिर रहेका छन् ।

खाँणका अनुसार ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दरबारको पुरानै नक्शामा पुनःनिर्माण थालिएको छ । भत्किएको गा¥होमा पुरानो स्वरुप कायम रहने गरी भक्तपुरका ईंटा प्रयोग गरेर पुनःनिर्माण थालिएको छ । भग्नावशेषमा परिणत भएको दरबारको पुरातत्व विभागको रु बा¥ह लाखको लगानीमा पुनःनिर्माण भइरहेको छ ।

दरबारको संरक्षण र पुनःनिर्माणमा स्थानीय तहले पनि चासो देखाएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा दरबारको संरक्षणका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढोर मूलकोट रोयल पार्क निर्माण तथा गुरुयोजना तयार पार्न दुई शीर्षकमा रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । वडा कार्यालयले समेत दरबार संरक्षण गर्न रु चार लाख विनियोजन गरेको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दरबारसम्म पुग्ने कृति रजस्थल मोटरमार्गलाई रु तीस लाख विनियोजन भएको छ । उक्त रकमले मोटरमार्गको सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । सडक स्तरोन्नति भएपछि दरबारमा पर्यटक पुग्नलाई सहज हुने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष भण्डारी भन्नुहुन्छ – “संरक्षण अभावले भग्न बनेको दरबारको पुनःनिर्माण गरेर नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य लिएका छौं । सहस्राब्दी मार्ग ९मिलेनियम ट्रेक० को रुटमा पर्ने भएकाले दरबारले पर्यटनको प्रचूर सम्भावाना बोकेको छ ।” उहाँका अनुसार दरबारको पुनःनिर्माणसँगै दरबार परिसरलाई तारबार गर्ने, पूर्वाधार थप गर्ने योजना छ ।

उहाँले भन्नुभयो – “शुक्लागण्डकीको पहिचानलाई स्थापित गराउन दरबारको भूमिका महत्वपूर्ण छ । नगरले दरबारको गुरुयोजना तयार पार्दैछ भने वडा तहबाट गर्नुपर्ने काममा हामीले कुनै कसर बाँकी राख्दैनौं ।”

ढोर राज्यको अन्तिम राजा सिद्धि खाँण ठकुरी हुन् । गोरखा दरबारका तत्कालीन राजा इन्द्र राज्यलक्ष्मीले कास्कीकोटका राजासँग मिलेर विसं १८३७ ढोर राज्यमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर ढोरका राजा मारिए । राज्य र प्रजा जोगाउन मृत्युसँग पनि नडराई युद्धमा होमिएका राजाको मृत्युपछि ढोर राज्य गोरखा राज्यसँग विलय भएको जानकारहरु बताउँछन् । त्यसपछिको साढे दुई सय वर्षको समयमा दरबारको जीर्णोद्धार हुन सकेन ।

दुई दशक अगाडिसम्म दरबारका थुप्रै संरचनाहरु देख्न सकिने अवस्थामा थिए । ऐतिहासिक वस्तुहरुको संरक्षण नहुँदा कतिपय चोरिए भने भने कतिपय जमीनमुनि पुरिए ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट बा¥ह किलोमिटरको दूरीमा ढोर दरबार अवस्थित छ । समुद्री सतहदेखि एक हजार २७० मिटरको उचाइमा रहेको दरबार परिसर दृश्य अवलोकन गर्ने उपयुक्त स्थान पनि हो ।

मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग मिलेनियम ट्रेकमा पर्ने ऐतिहासिक ढोर दरबारबाट देखिने सूर्योदय र सूर्यास्तले सबैलाई लोभ्याउँछ । अग्लो ठाउँमा रहेको दरबार परिसरबाट शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा देख्न सकिन्छ । यहाँबाट कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका गण्डकी प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरु देखिन्छ ।

ढोर दरबारको नजीकै रजस्थल गाउँ छ । गुरुङ, मगर, ठकुरी, तामाङ र दलित समुदायको मिश्रित बस्ती रहेको यस ठाउँमा विसं २०६० सालसम्म ६५ घर थिए । अहिले ४० घरधुरीको मात्रै यहाँ बसोबास छ । अधिकाँश घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । युवायुवती कोही शहर झरेका छन् त कोही विदेश लागेका छन् ।

विसं २०६० सालमा गाउँमा सडक पुगेपछि गाउँलेहरु शहर झर्न थालेको रजस्थल टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “धेरैजसो छोराछोरीलाई अङ्ग्र्रेजी माध्यमको विद्यालयमा पढाउने बहानामा शहरतिर झरे । कति श्रीमान् विदेश जानासाथ छोराछोरी बोकेर झरे । गाउँमा अहिले बूढापाका र महिलामात्रै छन् ।”

विदेश पसेका र शहर झरेकालाई गाउँ फर्काउने सपना देखेका छन् रजस्थलवासीले । गाउँको शिरानमा रहेको ऐतिहासिक ढोर दरबारलाई पर्यटनसँग जोडेर नमूना गाउँ निर्माण गर्ने अठोटका साथ लागेका उनीहरुको सपना अझसम्म पनि पूरा भने भएको छैन । ग्रामीण पर्यटनको महत्वपूर्ण आधार मानिने होमस्टे यहाँ सञ्चालन गरिएपनि सोचेजस्तो प्रगति हुन नसकेको रानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाइसे राज्यअन्तर्गतको राज्य ढोर दरबार ओझेलमा पर्दा घरबाससमेत सञ्चालन हुन सकेन ।”
रासस