विवाह भोजले एकैटोलका ३५ बढिलाई झाडापखाला


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विवाह भोज खाएर फर्कीएका तिन दर्जन बढि मानिसहरु बिरामी भएका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ स्थित मुलाबारी र आसपासका दर्जनौ मानिसहरुमा झडापखाला फैलिएपछि सिंगो गाउँ नै आतंकीत बन्न पुगेको छ ।

शुक्रबार मुलाबारीका स्थानीय गोपी भुजेलको छोरीको विवाह भोज खाएर फर्कीएका ३५ जनाभन्दा बढि स्थानीयमा झाडापखाला चलेको स्थानीय एवम बलेफी गाउँपालिका ५ का वडासदस्य रामकाजी भुजेलले जानकारी दिनुभयो ।

बिरामीहरुलाई शनिवार स्थानीय सदावहार अस्पताल र खाडीर्चारस्थित मेडिकलहरुमा उपचारका लागि ल्याइएको छ । बिरामीमध्ये स्थानीय बिमला कार्की, संगिता भुजेल र शर्मिला भुजेलको अवस्था गम्भीर भएपछि उनीहरुलाई काठमाडौं पठाइएको छ । विवाह भोज खाएर फर्कीएका उनीहरुलाई फुड पोईजनका कारण झाडापखाला लागेको उपचारमा संलग्न चिकित्शकहरुले बताएका छन् । ‘पानीका कारण पनि यस्तो भएको हुनसक्छ’, उपचारमा संलग्न चिकित्शकले भन्नुभयो ।

मुलाबारी टोल र आसपासमा झाडापखाला फैलिएपछि बिरामीहरुको उपचारका लागि बलेफी गाउँपालिकाले एम्बुलेन्स पठाएर उनीहरुलाई अस्पताल ल्याइएको थियो । ‘दर्जनौ मानिस बिरामी भन्ने सूचना पाएपछि तत्काल नै हामीले एम्बुलेन्स पठाएर उनीहरुलाई अस्पतालसम्म ल्यायौं’, गाउँपालिका अध्यक्ष केदार क्षत्रीले भन्नुभयो । महामारी फैलन नदिन स्वास्थ्यकर्मीको टोली नै आइतबार घटनास्थल जाँदै गरेको अध्यक्ष क्षत्रीले बताउनुभयो ।