गौरीशंकर संरक्षण क्षेत्रमा सुनौलो विरालो


चिरञ्जीवी मास्के, दोलखा ।
तिब्बतसंगको सिमाना दोलखाको लप्ची उपत्यकामा अत्यन्त दुर्लभ ठानिएको सुनौलो विरालो (गोल्डेन क्याट) भेटिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्यन अनुसन्धान शिर्षक अन्र्तगत दोलखाको विगु गाँउपालिका (तत्कालिन लामावगर गाविस) मा पर्ने लप्ची उपत्यकामा भएका जीव जन्तुको जानकारी लिन क्यामेरा ट्रापिङ गर्दा सुनौलो विरालो भेटिएको संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहले बताए ।

नेपालमा पुर्वको मकालु– बरुण र कञ्चनजंगा क्षेत्रमामात्र देखिएको सुनौलो विरालो दोलखाको लप्ची उपत्यकामा समेत भेटिनु महत्वपूर्ण उपलब्धि भएको क्यामेरा ट्रापिङ अभियानका प्रमुख पोखरा विश्व विद्यालयका उपप्राध्यापक डा नारायणप्रसाद कोजुले बताए । लप्ची उपत्यकामा सुनौलो विरालोको उपस्थिति भनेको नेपालको पूर्वीय क्षेत्रमामात्र हैन मकालु– बरुणबाट पश्चिम तिर समेत रहेको तथ्य भएको कोजुले बताए । यो तथ्य पहिलो पटक भेटिएकोले पनि यसको विशेष महत्व रहेको अध्यन टोलिका प्रमुख पोखरा विश्व विद्यालयका उपप्राध्यापक डा कोजु बताउछन् ।

दुई हजार देखि ३३ सय मीटरको उँचाईमा पाईने सुनौलो विरालो ढुङ्गाहरु धेरै हुने र सुख्खा पत्झर जङ्गल भएको क्षेत्रमा पाईने डा कोजुले बताए । बढीमा ६ बर्षसम्मको आयु रहको सुनौलो विरालोको मोटाई ६६ देखि १०५ सेमी, लम्बाई ४० देखि ५७ सेमी र उँचाई ५६ सेमीसम्मको हुने र तौल १६ केजीसम्मको हुने अध्यन टोलिका प्रमुख डा कोजुले बताए ।

अहिलेसम्मको अध्यन अनुसार सुनौलो विरालो नेपाल लगायत भारत, चिन, लावस, भुटान, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, भियतनाम, मलेसिया र इन्डोनेसीयामा पाईने अध्यन टोलिका सदस्य गौरीशङ्कर संरक्षण क्षेत्रका संरक्षण अधिकृत बिष्णु पाण्डेले बताए । तर सुनौलो विरालो विश्व भरी कति संख्यामा छ भन्ने तथ्याङ्क भने अहिलेसम्म निकालिएको छैन् ।

गौरीशङ्कर संरक्षण क्षेत्रले गत २०७५ असोज देखि २०७६ बैशाखसम्म लप्ची उपत्यकाको बिभिन्न ठाँउमा दुई किलोमीटरको फरकमा १३ वटा क्यामेरा जडान गरी अध्यन गरेको र सो क्रममा अन्तराष्ट्रिय संरक्षण संघ आईयुसियनले संकट उन्मुख (दुर्लभ) प्रजातिमा सूचिकृत गरेको सुनौलो विरालो भेटिनु संरक्षण क्षेत्र स्थापनाको ९ बर्षको अवधिको महत्वपूर्ण उपलब्धि भएको संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहले बताए ।