खुकुरी देखाउँदै दिउँसै सहकारीसहित सुन पसल लुटपाट, चार जना पक्राउ


प्रदिप विवश भण्डारी काठमाडौँ ।
पछिल्लो समय यता हत्याका घटना मात्रै हैन लुटपाट पनि त्यतिकै भईरहेको छ । काठमाडौँ उपत्यकामा समेत दिउँसै खुकुरी देखाउँदै लुटपाट गर्न थालेका छन् ।

काठमाडौँ जोरपाटीस्थित बुद्धराम सुनारको भिमेश्वर सुनचाँदी पसलमा ४÷५ जनाको टोलीले गत जेठ ४ गते दिउँसो १२ः४५ बजेतिर सुनारलाई खुकरी देखाउँदै सुनचाँदी पसल लुटेका थिए । महानगरिय अपराध महाशाखाका प्रहरी उपरिक्षक ओम अधिकारीका अनुसार उनीहरुले खुकुरी, फलामको रडसहित अन्य हातहतियार प्रयोग गरि कसैलाई भने ज्यान मार्ने धम्कि दिँदै बुद्धरामलाई घाइत बनाएर छाडेका थिए ।

उनीहरुले बुद्धिरामको काउन्टरबाट ८० हजार रुपैँया लुटेर लगेको प्रहरी उपरिषक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँका अनुसार सो लुटपाटमा संलग्न चार जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा इलाम माइजोकमाई गाउँपालिकाका २४ वर्षीय धराने भन्ने नितेस तामाङ, रौतहटको चन्द्रनिगाहपुर– २ का २३ वर्षीय मन्द्रे भन्ने अजय ध्यावा तामाङ, काभ्रे चौरीदेरराली–३ का २३ वर्षीय बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुर शिखरपानी– ८ का ३० वर्षीय जिग्री भन्ने भिमराज थिङ रहेका छन् ।

महानगरिय अपराध महाशाखाकाको टोलीले उनीहरुलाई इलामसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट एक हजारसहित विभिन्न कम्पनिका चार वटा मोबाईल बरामद गरेको छ ।

उनीहरुले गत २०७५ साल भदौ २६ गते काठमाडौँ कलंकीस्थित अनुजेन्द्र बस्नेतको पिपुल्स मनि ट्रान्सफरबाट रु एक लाख ७० हजार लुटेर फरार भएका थिए भने माघ १४ गते बिहान १० बजे चाबहिल–७ स्थित रामप्रसाद तिवारीको एग्रिमोर बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाट गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार सोहि सालको चैत २६ गते बिहान ११ः१५ बजे काठमाडौँ काकर्णेश्वर–५ स्थित रवि श्रेष्ठको पाथिभरा मनि ट्रान्सफर सेन्टरबाट तीन लाख ५० हजार लुटेका थिए ।

यसैगरि उनीहरुले गत जेठ ३ गते बिहान १०ः४५ बजे ललितपुर ईमाडोलस्थित शुरेसराज शर्माको असन ईन्भेष्टमेन्ट प्रा.लि. बाट एक लाख रुपैयाँ लुटेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक अधिकारीका अनुसार उनीहरुलाई १४ वर्षसम्म कैद र ७० हजार देखी एक लाख ४० हजार सम्म जरिवाना र ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र एक लाख रुपैँया जरिवाना हुने कानूनी व्यवस्था छ ।