कम्युनिस्टहरू झुटको खेतीमा माहिर भएको नेता केसीको आरोप


हेटौंडा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरु झुटको खेती गर्न एकदम माहिर रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा शुक्रबार हेटौंडा–१८ को गुम्बाडाँडामा भएको जनजागरण अभियानमा केसीले नेकपाको दुई तिहाइ सरकार झुठको खेती गर्दै र जनताको अमूल्य मत प्राप्त गर्दै सरकारमा गए पनि अझै झुटा आश्वाशन र झुठकै खेती गरिरहेको बताउनुभयो ।

नेता केसीले विश्वको इतिहासमा एउटै पार्टीले ३ ठूला क्रान्ति गर्ने नेपालको कांग्रेसमात्र रहेको बताउँदै भन्नुभयो–हामी एक भएर लागे विश्वबाट पलायन भएको कम्युनिष्ट नेपालमा पनि अर्धमूर्छित हुनेछ ।

कांग्रेस अब चुप लागेर नबस्ने बताउँदै उहाँले कम्युनिष्ट सरकारले संघ, प्रदेश र स्थानीय निकायमा गरिरहेको चरम भ्रष्टाचार, शोषण, दमनको भण्डाफोर गर्दै गाउँगाउँमा जनजागरण अभियान लिएर हिँडेको बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनजागरण अभियानबारे प्रष्ट पार्दै कम्युनिष्ट शासनकाललाई नेपाली जनताले मन नपराएको बताउनुभयो । नेता बानियाँले विश्वबाट पलायन भएको कम्युनिष्ट नेपालबाट समेत पलायन हुने संघारमा पुगेको दाबी गर्नुभयो ।

कांग्रेस अब कम्युनिष्ट सरकारले लाद्न खोजेको निरंकुशताविरुद्ध एक भएर लाग्दै जनताको घरदैलोमा गइरहेको बताउँदै नेता बानियाँले कम्युनिष्टजस्तो धोकेवाज र गफको भरमा कांग्रेस कहिल्यै नलाग्ने बताउनुभयो । ‘कम्युनिष्ट सरकार काण्डैकाण्ड, भ्रष्टाचार, बलात्कार, महंगी बढाएर आश्वासनमात्र दिँदै रुमल्लिरहेकोले ५ वर्ष पनि टिक्न नसक्ने अबस्था छ,’ नेता बानियाँले भन्नुभयो ।

नेपाल महिला संघ केन्द्रीय सदस्य सुशीला उप्रेतीले कांग्रेस अब एकजुट भएर कम्युनिष्ट सरकारको बलमिच्याईंविरुद्ध लाग्नुपर्ने बताउँदै कांग्रेसको सिद्धान्त र विचारलाई जनतामाझ लैजानुपर्ने बताउनुभयो ।

जनजागरण अभियानका लागि महिला संघको केन्द्रीय प्रतिनिधिका रुपमा मकवानपुर आउनुभएकी उहाँले विश्वले नपत्याएको कम्युनिष्ट नेपालबाट पनि चाँडै समाप्त हुने बताउनुभयो । जनजागरण अभियानमा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।