हेटौँडामा युरिया मलको अभाव


हेटौँडा ।
खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ ।

मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् ।

यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् ।

जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेका कारण मल समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

कृषि सामग्री कम्पनीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताउनुभयो ।

मलको टेण्डर भई आयत प्रक्रिया पूरा भइसकेको र हेटौँडामा एक हप्तासम्ममा आउने जानकारी दिनुभयो ।

साथै साल्ट ट्रेनिङ हेटौँडाले पनि युरिया मल ल्याएर बिक्री गर्नमा केही समय लाग्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको बताउनुभयो ।

चालू आर्थिक वर्षमा अहिलेसम्म जिल्लामा एक हजार ६०० मेट्रिक टन मल खपत भएको छ । दुई हजार ३०० मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

त्यस्तै जिल्लामा पोटास र डिएपी मलको पनि अभाव देखिएको छ ।
मनहरीमा पुल निर्माण

मनहरी गाउँपालिका–६ कत्लेमा निर्माणाधीन पक्की पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ६ नं वडाको सशस्त्र क्याम्प अगाडि रहेको कत्ले खोल्सीमा निर्माण भइरहेको पुलको ९९ प्रतिशत कार्यसम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा उक्त स्थानमा पुल निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट प्राप्त उक्त बजेट तथा स्थानीयवासीको जनश्रमदानबाट पक्की पुल निर्माण गरिएको हो ।
रासस