किसानद्वारा आफैं उद्योग स्थापना गरी चीज, छुर्पी र पनिर उत्पादन


धनकुटा ।
मिल्क होलिडे र बजार अभावले दूध बिक्री नहुने समस्याले हैरान बनेका धनकुटाको भीरगाउँका पशुपालक किसानले आफैं उद्योग स्थापना गरी चीज, छुर्पी र पनिर उत्पादन गर्न थालेका छन् ।

प्रशस्त दूध उत्पादन भए पनि बिक्री नभएपछि आफैं प्रशोधन उद्योग खोलेका धनकुटाको भीरगाउँका गोविन्दप्रसाद सुवेदीले दैनिक १५ किलो छुर्पी र १५ किलो घिउ उत्पादन गरिरहेका छन् । उनको उद्योगमा स्थानीय ३२ परिवार किसानको करिब ३ सय ५० लिटर दूध संकलन हुन्छ । गाउँघरमै दुग्ध प्रशोधन उद्योग सञ्चालनमा आएपछि दूध नबिक्ने समस्या समाधान भएको छ भने स्थानीय स्वरोजगारसमेत बनेको भीरगाउँ–२ का उद्यमी गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । गाउँघरमै सानो लगानीका दुग्ध प्रशोधन उद्योग स्थापना भएपछि दूध नबिक्ने समस्याबाट किसान मुक्त भएका हुन् ।

यति हुदाँसमेत किसानहरू अहिले बजारको समस्याबाट ढुक्क हुन भने सकेका छैनन् । उनीहरू फेरि गाउँमा सञ्चालित उद्योग बन्द हुने अवस्था आएमा बजारको समस्या कसरी समाधान गर्ने भन्ने विकल्प नदेखेको स्थानीय कृषक सीताराम सुवेदी बताउँछन् । उनले भने “अहिलेसम्म त गाउँघर मै दूध बिक्री भइरहेको छ, तर गाउँका उद्योग बन्द भए भने फेरि बजारको समस्या आउँछ की रु” ग्रामीण उद्योगमा उत्पादित चीज, घिउ, छुर्पी र पनिर धनकुटाका स्थानीयबजार तथा धरान र इटहरीमा बिक्री हुन्छ ।

दूध उत्पादन र बिक्री यहाँका किसानको आम्दानीको मुख्य स्रोत भएको उद्यमी गोपिलाल तामाङले बताए । सञ्चालित उद्योगले दैनिक १० देखि ५० किलोसम्म घिउ, छुर्पी, पनिर र चिज उत्पादन गर्छन् । यहाँ खुलेका दुग्ध प्रशोधन उद्योगमध्ये एउटाले करिब पाँचदेखि ११ लाख रूपैयाँसम्म लगानी गरेका छन् ।