फोहोर फ्याँक्ने -यालीमा, सफा गर्ने हेरेको हे-यै !


हेटौंडा ।
बुधबार विश्व वातावरण दिवस । विहानीको समयमा बजारको पूर्वी सडकको साइडमा विभिन्न संघसंस्था तथा निकायका व्यक्तिहरु ब्यानरसहित नारा लगाउँदै ¥यालीमा थिए । त्यही सडकमा पश्चिमतर्फ एक महिला फोहोरको थुप्रोसहित देखा परिन् ।

‘स्वच्छ वायु–स्वस्थ्य जीवन’ भन्ने मुल नारासाथ ४७ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रम बुधबार हेटौंडामा समापन भयो । टोल विकास सस्था नगर समन्वय समितिले ¥यालीसहित सञ्चालन गरेको कार्यक्रममा सहभागी महिला/पुरुष सजिसजाउ थिए ।

आफ्नो फेसबुकमा ‘वातावरण दिवसको अवसरमा’ भनेर हाल्न सडकमा सेल्फी खिच्नेको पनि संख्या प्रशस्त देखिएको थियो । त्यसैक्रममा वुद्धचोकमा करिब ६० वर्षीया एक महिला ¥यालीको विपरीत दिशातर्फबाट एउटा गाडामा फोहोर लैजाँदै गरेको अबस्थामा देखिएकी थिइन् ।

उनले जब ¥याली देखिन्, तब काम गर्न छाडेर ¥यालीतर्फ हेरिरहिन् । उनलाई थाहा थिएन कि त्यो लर्को कहाँ जाँदैछ र किन जाँदैछ । उनलाई यो पनि थाहा थिएन कि बुधबार कुन दिवस हो । त्यो भिडमा न कसैले उनलाई एक नजर हेरे, न त कोहीसँग कुनै कुरा भयो ।

विहान ५ बजेदेखि हेटौंडा बजारमा थुप्रिएका फोहोर संकलन गर्दै हिँड्ने उनलाई वातावरण दिवस थाहै छैन । भव्यरुपमा वातावरण दिवस मनाइएको सन्दर्भमा वातावरण संरक्षणका क्षेत्रमा असल काम गर्ने केहीलाई सम्मान गरियो । तर, उनीजस्ता दिनरात फोहोरको थुप्रो उठाउने हेटौंडा बजारका फोहोर संकलकलाई भने न कुनै कदर, न त सम्मान नै । हरेक दिन हेटौंडा बजारमा ती घिनलाग्दा चिज बढार्नेदेखि झारपात सफा गर्दै हिँड्नेले चिन्ता जनाए ।