सामुदायिक विद्यालय सुधारका लागि बाह्रविसेमा शैक्षिक सम्मेलन


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै शिक्षहरुले चाहेमा मात्र सामुदायिक विद्यालय सुधार हुने सरोकारवालाहरुले बताएका छन् । बुधबार बाह्रविसेमा आयोजित नगरस्तरीय शैक्षिक सम्मेलनमा शिक्षाविद् तथा सहभागी सरोकारवालाले शिक्षकहरु पेशाप्रति जिम्मेवार बनेमा शिक्षास्तर स्वत रुपमा सुधार हुने बताए ।

‘हाम्रा शिक्षकहरु अल्छि भए, पढ्दैनन’ शैक्षिक सम्मेलनमा बोल्दै प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले भन्नुभयो,‘शिक्षकहरु नै अल्छि भइदिएपछि विद्यार्थी कसरी जाँगरिलो हुन्छ ?’ शिक्षकहरु पुरानै मनोविज्ञानबाट ग्रसित भइरहेको भन्दै कोइरालाले शिक्षणमा नयाँ विधि र प्रविधि अपनाउन नसके शैक्षिक सुधार नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रतिनीधि सभाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षकहरुले आत्मामुल्याङन गर्दै आत्मानुसासनमा रहनुपर्नेमा जोड दिनुभयो । शिक्षण पद्धतिमा नयाँ प्रविधि आत्मासात नगरे गुणस्तरीय शिक्षा सम्भव नहुने भन्दै सांसद सापकोटाले मेहनत र परिश्रम गर्न शिक्षहरुलाई सुझाए ।‘सडकमा नारा लगाएर, ज्ञापनपत्र बुझाएर अब केहि हुनेवाला छैन’, सापकोटाले पटक पटकका शिक्षक आन्दोलनप्रति लक्षित गर्दै भन्नुभयो, ‘म आफैं पनि पन्ध्रवर्ष शिक्षण गरेको मान्छे हुँ, शिक्षकले मेहनत नगरेसम्म केहि सुधार हुनेवाला छैन ।’

शिक्षकहरुले शिक्षण पेशालाई जागिरकै रुपमा मात्र बुझदा सामुदायिक विद्यालय सुधार हुन नसकेको प्रदेश सांसद सरेश नेपालले बताउनुभयो । ‘राष्ट्र निर्माणमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा एउटा शिक्षककै भुमिकाले काग गर्छ’, उहाँले भन्नुभयो, ‘शिक्षकहरुले पेशालाई जागिरका रुपमा मात्र बुझ्नुभएन ।’

स्थानीय तह निर्वाचनको दुई वर्षपछि बाह्रविसे नगरपालिकाले बुधवार पहिलोपटक नगरस्तरीय शैक्षिक सम्मेलन ग¥यो । नगरभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र सरोकारवालाहरु भेला गरेर बुधबार शैक्षिक सुधारका लागि सुझाव र धारणा संकलन गरिएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शैक्षिक सुधारका लागि भावी योजना निर्माण गर्न शैक्षिक सम्मेलन आयोजना गरिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । बुधबारको सम्मेलन उघघाटन समारोहमा भावी कार्ययोजना निर्माणका लागि गठित नगर शिक्षा समितिको कार्यदलका तर्फबाट सरल सहयात्रीले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।