स्वास्थ्य विमा नगरे सेवाबाट बञ्चित


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको एक स्थानीय तहले स्वास्थ्य बिमा नगर्ने स्थानीयलाई सेवाबाट बञ्चित गर्ने निर्णय गरेको छ । आठविसकोट नगरपालिकाले स्वास्थ्य विमा नगर्ने स्थानीयलाई अन्य सेवा सुविधाबाट बञ्चित गर्ने भएको हो ।

स्वास्थ्य बिमामा सबैको पहुँच पु¥याउन बाध्यात्मक व्यवस्था नगरुन्जेल धेरै लाभग्राही छुटेको भन्दै नगर कार्यपालिका बैठकले नगरपालिकाबाट सेवा लिन स्वास्थ्य बिमालाई अनिवार्य गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको असार मसान्तभित्रै सबै नगरबासीहरुको स्वास्थ्य बिमा गर्ने गरी कार्ययोजना समेत तय गरेको छ । सम्बन्धित वडाका वडाध्यक्षले यसलाई कडाइका साथ लागु गर्ने बताइएको छ ।

स्वास्थ्य उपचारका लागि आर्थिक समस्या भोग्दै आएका स्थानीयलाई बिमाले गर्दा हुने फाइदाबारे जानकारी गराउँदै अनिवार्य रुपमा विमा गर्न दवाव स्वरुप यो निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । विमा गर्न समेत पैसा नहुने विपन्न वर्ग समुदायका परिवारको भने नगरपालिकाले निःशुल्क रुपमा विमा गरिदिने उहाँले जानकारी दिनुभयो ।

त्यस्ता परिवारलाई विपन्नताको परिचयपत्र दिएर निःशुल्क स्वास्थ्य बिमा गर्ने उहाँको भनाइ छ । बिमा नगर्नेहरुका हकमा नगरपालिकाबाट दिइने आर्थिक सहायता, प्राकृतिक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदा एवं अन्य सहायता तथा अनुदान उपलब्ध गराउन नगरपालिका बाध्य नहुने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बिमा गरेका स्थानीयको आठविसकोट नगर अस्पतालमै उपचार हुने भएको छ । आठबीसकोट नगर अस्पताल र नेपाल स्वास्थ्य बिमा बोर्डबीच सम्झौता गरी यस अस्पताललाई सेवा प्रदायक स्वास्थ्य संस्थाका रूपमा अनुमति दिएपछि अब बिमा गरेका सबैले आठबीसकोट नगर अस्पतालबाटै सेवा लिन पाउने भएका हुन् ।

नगर अस्पतालमै स्वास्थ्य बिमितका लागि सेवा सुरु भएपछि आठबीसकोट नगरपालिका र छिमेकी जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका स्थानीय समेत लाभान्वित हुने भएका छन् ।

बिमा गरेपनि त्यस बापतको सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाई स्थानीय स्तरमै सेवा दिन नगर अस्पताललाई बिमा बोर्डमा सूचिकृत गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा यसअघि जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्र सेवा लिनुपर्ने अवस्था रहेको थियो ।