खाली ठाउँमा फूल र फलफुल


हेटौंडा, (नेस) ।
हेटौंडामा ४७ औं विश्व वातावरण दिवसको अवसरमा ¥याली र सभा गरिएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा दुई सय भन्दा बढी टोल विकास संस्थाले आफ्ना भेषभुषा, वातावरण संरक्षण गर्ने अभियानसहित र्याली निकालेका हुन् ।

हेटौंडाको हुप्रचौरबाट निकालिएको ¥यालीले मेनरोड, सीमाचोक, स्कुलरोड भएर भुटनदेवी माध्यमिक विद्यालयको चौरमा सभामा परिणत भएको थियो । कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले हेटौंडालाई फूलैफूलको शहरका रुपमा विकास गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

शहरलाई सफा र सुन्दर बनाउन टोल विकास संस्थाका महिलाको महत्वपूर्ण भूमिका हुने उहाँले औंल्याउनुभयो । हेटौंडामा खाली स्थान देखे फूल र फलफुलका बिरुवा रोप्न मेयर महतले आग्रह गर्नुभयो ।

हेटौंडा उपमहानगर उपमेयर मीना लामाले टोल विकास संस्थाहरु नगरको अभिन्न अंगका रुपमा रहेको बताउँदै बिरुवा रोप्ने कामसँगै संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
टोल विकास संस्थामध्ये उत्कृष्ट र्याली प्रदर्शन गर्ने हेटौंडा–११ को सिमल्टार टोल विकास संस्था प्रथम भएको छ । उसले नगद १० हजार रुपियाँसहित सम्मानपत्र हात पारेको छ ।
हेटौंडा–९ को प्रगति टोल विकास संस्था द्वितीय भएको छ । उसले नगद ७ हजार रुपियाँसहित सम्मानपत्र प्राप्त गरेको छ । हेटौंडा–५ को अब्बलडाँडा टोल विकास संस्था तेस्रो भएर पाँच हजार नगदसहित सम्मानपत्र हात पारेको छ । सात टोल विकास संस्था सान्त्वना भएका छन् । उत्कृष्ट विद्यालय र संघसंस्थालाई पनि पुरस्कृत गरिएको थियो ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगर अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ अध्यक्ष राजन थापा, हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेल र नेपाली कांग्रेसका नेता प्रदीप कोइरालालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।