मिडिया काउन्सिल विधेयक सच्याउन माग


हेटौंडा, (नेस) ।
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक सच्याउन बुधबार हेटौंडामा आयोजित कार्यक्रमका सहभागीले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधिसँगको छलफलका सहभागीले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सरकारले पत्रकारितामाथि अंकुशमात्र नभएर निरंकुशता लाद्न खोजेको आरोप लगाउनुभयो ।

मिडिया काउन्सिल विधेयक खारेज हुनुपर्ने उहाँले माग गर्नुभयो । पत्रकारिताभित्रको छाडातन्त्र नियन्त्रण गर्नुपर्ने तर स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन नपाइनेमा उहाँले जोड दिनुभयो ।

नेकपाका प्रदेश सांसद् तथा पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देलले सरकारले विधेयक सच्याएर मिडियामैत्री बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । संसद्मा पेस भएको विधेयक जस्ताको तस्तै पास नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । मिडियामैत्री ढंगले विधेयक संशोधन गरिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इंको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश पत्रकार महासंघ अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुर संयोजक धु्रवप्रसाद चौलागाईं र पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष पोष्टराज अधिकारी (कुमार) लगायतले मन्तव्य व्यक्त गरेका थिए ।