सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायीक सहकारी र बनेपा हेल्थ केयरबीच समझदारी


नेपाल समाचारपत्र, काभ्रे ।
आफ्नो सदस्यहरुलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायीक वचत तथा ऋण सहकारी संस्था पनौतीले बनेपा हेल्थ केयर प्रालिसंग एक समझदारी गरेको छ ।

यो समझदारी पछि सामुदायीक संस्थाका शेयर सदस्यहरुले औषधिमा १० प्रतिशत, दन्त सेवामा २० प्रतिशत, ल्याव परिक्षणमा २० प्रतिशत र एक्स–रे तथा फिजियो थेरापी सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । यो समझदारीपत्रमा बनेपा हेल्थ केयरको तर्फबाट प्रवन्ध निर्देशक जितेन्द्र कुमार थापा र सामुदायीकको तर्फबाट प्रमुख कार्यकारी निर्देशक मदन बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

आफ्नो शेयर सदस्यहरुको स्वास्थ्यमा ध्यान दिदै सामुदायीक वचत तथा ऋण सहकारी संख्यले आफ्ना सदस्यहरुलाई एकलाख रुपैया सम्मको स्वास्थ्य बीमा सुविधा दिने योजना समेत ल्याएको थियो । यो योजना अन्तर्गत संस्थामा खाता खोल्ने सदस्यहरुले मासिक व्याज त पाउछन नै वार्षिक उपचार खर्च एकलाख सम्म पनि पाउने भएका छन् ।

संस्थाका कार्यकारी अधिकृत बस्नेतका अनुसार न्युनतम मौज्दात ३० हजार रहने गरि खाता खोलेमा स्वास्थ्य उपचारको लागि वार्षिक एकलाख सम्म उपलब्ध गराउने गरि बिमा कम्पनी संग सम्झौता गरिएको छ ।

यो योजनामा खाता खोलेका सदस्यहरुले संस्थाले तोकेको अस्पतालमा एकलाख सम्म बिना रकम उपचार गराउन पाउछन भने अन्य अस्पतालमा उपचार गराए बिल अनुसार भुक्तिानी पाउने छन् ।

साथै, न्युनतम मौज्दात भन्दा बढी रकम जुनसुकै बेला निकाल्न मिल्ने छ । साढे ६ प्रतिशत व्याज पनि आउने भएकोले संस्थाले यसलाई एक वचतमा दुई योजनाको नाम दिएको छ । हाल दिर्घ रोग पहिचन नभएको र ६४ वर्ष सम्म उमेर भएकाले यो योजनामा खाता खोल्न पाउने कार्यकारी अधिकृत बस्नेत बताउनुहुन्छ ।

संस्थाले साँवा नमासि मासिक खर्च जुटाउन उपयुक्त हुने संक्रान्ति बचत खाता योजना पनि ल्याएको छ । यो खातामा प्रत्यक महिनाको ३० गते व्याज जम्मा हुने र १ गते निकाल्न मिल्ने भएकोले संक्रान्ति बचत खाता भनिएको हो । यो खाताको न्युनतम मौज्दात १० हजार रुपैया कायम गरिएको छ । विषेश गरि जिउनी रकम राखेर गुजार गर्नेहरुको लागि उपयुक्त यो खातमा साढे १२ प्रतिशत व्याज उपलब्ध गराईने छ ।

२०५१ सालमा ४१ जना स्थानीय बासिन्दा मिलेर ३२ हजार ५ सय जम्म गरि स्थापना गरिएको सामुदायीक बचत तथा ऋण सहकारी संस्थामा हाल २१ हजार सदस्य छन भने यो संस्थाको पुजि १ अर्ब ७९ करोड भन्दा बढी पुगेको छ ।

उत्कृष्ट व्यवस्थापनका साथ कार्य गरेको भनि राष्ट्रिय मात्र हैन विभिन्न अन्र्तराष्ट्रिय पुरस्कार समेत पाएको यो एसिय स्तरको ब्राण्ड पनि पाएको छ । मुख्य कार्यालय बाहेक अन्य ९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

पशुविमा, बाली विमा योजना संचालन गरेर काभ्रेका आम कृषकको घरघरमा पुगेको सामुदायीक सहकारीको आफ्ना सदस्यहरु संग सधै सहकार्य गरिरहने उदेश्यका साथ सदस्यका परिवारमा जन्म र मृत्यु दुवै अवस्थामा घरमै पुगेर सहयोग गर्ने गरेको छ ।

कार्यकारी अधिकृत बस्नेतका अनुसार जन्ममा भोटो र खुत्रुके लिएर सदस्यको घरमा पुग्ने गरिएको छ भने मृत्युमा नगद १० हजार रुपैँया राहत लिएर सदस्यको घरमा पुग्ने गरिएको छ ।

सरकारले सञ्चालनमा ल्याएकाो १० युवा एक उद्यम कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी समेत पाएको यो संस्थाले भाका नाघेको ऋण प्रतिशत घटाउने योजनालाई पनि प्रभावकारी बनाउदै लगेको छ । यो संस्थामा खराव कर्जा ३ दशमलव ४६ प्रतिशत छ ।