बुटवलमा मुस्लिम समुदायले मनाए इद


यमलाल भुसाल, बुटवल ।
तराईका जिल्लाहरुमा मुस्लिम समुदायहरुले बुधवार मुलुकमा शान्ति र स्थायित्वको कामना गर्दै इद पर्व मनाएका छन् ।

बुटवलमा रजा ए मुस्तफा मस्जिद समितिमा बुधवार भेला भई मुसलमान समुदायका धर्मावलम्बीहरुले इदको नमाज पढेका छन् । इद पर्वको उपलक्ष्यमा उनीहरुले वर्षभरीको रिस, राग र द्वेषको अन्त्य गर्दै आपसमा शुभकामना साटासाट गर्दै भातृत्वको कामना समेत गरेका छन् । सरकारले इद पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिएको छ ।

एक महिना लामो रमजानको कठोर व्रत लिएपछिको भोलिपल्ट चन्द्रमा हेरेपछि मुस्लिम समुदायले इद पर्व मनाउने गर्छन् । इद पर्व खुशीयालीको पर्व भएकाले आपसमा शुभकामना साटासाट गर्नुका साथै एकअर्कालाई मिठो खाना खुवाउने चलन रहेको रजा ए मुस्तफा मस्जिदत समितिका अध्यक्ष मकबुल मियाले बताउनु भयो ।

ईस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बस्ने गर्छन ।

मुस्लिम समुदायले इदको अवसरमा कुर्वानी दिने चलन छ । कुर्वानी दिएको चौपायको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फितरमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ ।

यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । यस बर्ष ईदका अवसरमा आफुहरुले मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै मुस्लिम समुदायले इद मनाएको अध्यक्ष मियाले बताउनुभयो ।