महिलालाई निःशुल्क यातायात सुविधा विवादास्पद


नयाँदिल्ली, (एजेन्सी)

भारतको राजधानी नयाँदिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले सार्वजनिक सवारी साधन प्रयोग गर्दा महिलाहरुले अबदेखि कुनै शुल्क तिर्नुनपर्ने घोषणा गरेका छन्। उनले महिलाहरुले नगर बसहरु र मेट्रो ट्रेन निःशुल्क चढ्न पाउँदा शहरमा तिनीहरुको सुरक्षा अवस्थामा सुधार आउने विचार व्यक्त गरेका छन्।

दिल्लीमा सबैभन्दा बढी संख्यामा महिलामाथि बलात्कार हुने गरेको सरकारी तथ्यांकमा उल्लेखित छ। सन् २०१२ दिल्लीमा गुड्दै गरेको बसमा एकजना छात्राको सामूहिक बलात्कारपछि हत्या हुँदा देशभरि व्यापक विरोध प्रदर्शन भएको थियो। तर सम्पूर्ण जनता केजरीवालको यस प्रस्तावबाट महिलाको सुरक्षामा सहयोग पुग्छ भन्ने कुरामा अझै विश्वस्त छैनन्।

भारतीय प्रविधि प्रतिष्ठानका पारवहन विशेषज्ञ दिनेश मोहनले निःशुल्क सार्वजनिक सवारी साधनको सुविधाबाट मात्र समस्या समाधान नहुने बीबीसीलाई बताएका छन्। दिल्ली मेट्रोले यसअघि नै महिनाहरुलाई प्रत्येक ट्रेनमा महिलाहरुलाई सिट आरक्षण दिने गरेको छ। अहिले सामाजिक सञ्जाल केजरीवालको प्रस्ताव बारे व्यापक छलफल भइरहेको छ। थुप्रै अर्थशास्त्री र स्तम्भकारले केजरीवालको यो विचारको विरोध गरेका छन्। साथै केही महिलाहरुले पनि आफूहरुले मेट्रो निरन्तर पैसा तिर्ने बताएका छन्।