कृष्णउदास खनाल, वीरगन्ज
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मालपोतका लेखापढी व्यवसायीलाई झपारेपछि लेखापढी व्यवसायी आन्दोलित भएका छन्।
जिल्ला मालपोत कार्यालय पर्साको लेखापढीको काम गर्दै आएका लेखनदासहरू आन्दोलित भएका हुन्। नेपाल लेखापढी कानुन व्यावसायी संघ पर्साका अध्यक्ष रामाधार कलवारले मालपोत कार्यालयमा पुग्ने सेवाग्राहीको समस्याका बारेमा डेलिगेसन जाँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उल्टै गाली गरेकाले विरोधमा उत्रिएको दाबी गर्नुभयो। मालपोत कार्यालयको समस्या समाधान गर्नुको साटो लेखनदासलाई गुण्डा, दलाल, भ्रष्ट्राचारी भनेकाले प्रमुख जिल्ला अधिकारीको विरोध गर्नुपरेको उहाँको दाबी छ। आफू काम नै बन्द गरेर आन्दोलनमा उत्रिएको उहाँले जानकारी दिनुभयो।
मालपोतमा कर्मचारीको अभावले सेवाग्राहीको काम भइरहेको छैन भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेसन लिएर गएको, तर उल्टै प्रजिअले लेखापढी कानुन व्यवसायीले गुण्डागर्दी शैली अपनाएको, तपाईंहरूको कारणले कर्मचारीले दुःख पाएको जस्ता कुराहरू गरेर आफूलाई नै गाली गरेको उहाँको दाबी छ। मालपोत कार्यालयमा १ अधिकृतसहित ५४ जनाको दरबन्दी छ, तर हाल १८ जना कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। सेवाग्राहीलाई एउटा काम गराउन एक सातासम्म लाग्ने गरेको भन्दै सोमबारदेखि लेखनदास आन्दोलनमा छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने आफूले लेखनदासलाई आचरण सुधार्न आग्रह गरेको बताउनुभयो। उहाँले कार्यशैलीमा सुधार्न भन्दा उनीहरूले नकारात्मकरुपमा लिएको प्रतिक्रिया दिनुभयो। लेखनदासले मालपोतका कर्मचारीको काममा अवरोध मात्रै सिर्जना गर्ने गरेको आफूले पाएको बताउनुभयो। लेखनदासले अटेरी गरेर कार्यालयको काममा अवरोध पु¥याए संस्था खारेजीको प्रक्रिया अघि बढाउन सकिने चेतावनी उहाँले दिनुभयो।
प्रतिक्रिया