टेलिकमद्वारा रसुवा, ताप्लेजुङ र डोल्पामा सेवा विस्तार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाल टेलिकमले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दुर्गम र विकट भेगमा मोबाइल सेवा शुरू गरेको छ। हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको हो।

कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ। यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ। यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ। रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ। यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन्। ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ। ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ। यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन्।

डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन्। ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ। त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ। दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन्।

कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ। घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन्। यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ।