कोशी अस्पतालमा शल्यक्रिया बन्द हुँदा बिरामी मर्कामा

0
Shares

सरोज यादव, विराटनगर
प्रदेश नम्बर एकको जेठो र ठूलो सरकारी अस्पताल भनेर चिनिएको कोशी अस्पतालमा हुने नियमित शल्यक्रिया एकाएक बन्द हुँदा बिरामीलाई सास्ती भएको छ।
शल्यक्रिया जस्तो संवेदनशील जटिल उपचार सेवा बन्द हुदाँ बिरामी यतिबेला अस्पतालको शैयामा त्यत्तिकै थन्किएर बस्न बाध्य छन्। कतिपय बिरामी अप्रेसन नहुने भनेपछि घर फर्किएका छन् भने कतिपय बिरामीहरू अप्रेसन कहिले हुन्छ भनेर दिन गन्तीमा बसेका छन्।

कोशी अञ्चल अस्पतालले आइतबार सूचना जारी गर्दै अस्पतालको अप्रेसन कोठामा रङरोगन तथा मर्मतसंभार गर्नुपर्ने भएकाले जेठ १९ गतेदेखि कार्य सम्पन्न नभएसम्मका लागि नियमित नहुने बेहोरा अनुरोध गरेको छ। कोशी अस्पतालमा सस्तो राम्रो उपचार सेवा प्रदान हुन्छ भनेर बिरामीहरू पूर्व पहाडी जिल्ला तथा छिमेकी भारतबाट समेत आउने गरेका छन्।

तर, अस्पतालमा बेला बेलामा हुने विभिन्न गतिविधिका कारण कोशी अस्पतालप्रति बिरामीको विश्वास घट्दै जान थालेको छ। विराटनगर १२ का सदानन्द ऋषिदेवलाई दुई साताअगाडि लडेर खुट्टामा गहिरो चोट लाग्यो। उहाँ कोशी अञ्चल अस्पताल भर्ना हुन आउनुभयो। भर्ना भएको केही दिनपछि कोशी अञ्चल अस्पतालका चिकित्सकहरूले खुट्टामा स्टिल हाल्नुपर्छ भनेर सल्लाह दिए। चिकित्सकको सल्लाहअनुसार जेठ १९ गते अप्रेसन गर्नुपर्ने थियो। उहाँले अप्रेसनका सामग्री पनि मगाउनुभयो। ऋषिदेवका आफन्तले पनि अप्रेसनमा चाहिने स्टिलदेखि सबै सामग्री किनेर ल्याए।

ऋषिदेवलाई अप्रेसनको थिएटरमा लैजानुअघि अप्रेसनको कपडा पनि लगाइदियो। जब ऋषिदेव अप्रेसनको कोठमा प्रवेश गर्न लाग्नुभएको के थियो अस्पताल प्रशासनले अप्रेसन हुन नसक्ने भन्दै सूचना जारी ग¥यो। ऋषिदेव कोशी अञ्चल अस्पतालको अप्रेसन हुनबाट वञ्चित एक पात्र मात्र हुनुहुन्छ। उहाँ जस्तै यहाँ हरेक दिने २० देखि ३० जनाको अप्रेसन हुने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ।

अस्पतालमा रहेको अप्रेसन कक्ष सबैभन्दा पुरानो भएका कारण जीर्ण बनेको छ। जो कोही अप्रेसन कक्षमा जान डराउँछन्। अप्रेसन कक्षको छतबाट पानी रसाएर कोठा जलमग्न हुने, अप्रेसनका कक्षका झ्याल ढोका, भित्तालगायत फर्निचरका सामानहरू कामै नलाग्ने अवस्थामा छन्।

कोशी अस्पताल प्रशासनले भने ३–४ दिनभित्रमा अप्रेसन सेवा सुचारु गर्ने जनाएको छ। कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन पोखरेलले अस्पतालका सबै अप्रेसन सेवा बन्द नभएको बताउनुभयो। ‘अहिले आकस्मिक कक्ष र डेलीभरीका अप्रेसन अर्कै कोठामा राखेर सेवा प्रदान गरिरहेका छौं’, पोखरेलले भन्नुभयो– ‘अबको ४ दिनभित्रमा नियमित अवस्थामा आउनेछौं।’