पानीका मुहान सुक्दै

0
Shares

विनोद सिंह विष्ट, बैतडी
पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन्। चार–पाँच वर्षभन्दा पहिला कलकल पानी बग्ने खोला सुख्खा भएका सुर्नया–६ शंकरपुरका नन्दराम अवस्थीले बताउनुभयो। पानीका मुहान सुक्दै जाँदा ठाउँ–ठाउँमा खानेपानी अभाव र सिँचाइको अभाव हुन थालेको उहाँले बताउनुभयो।

जथाभावी वन फँडानी हुनु, स्टिमेटबिना ठाउँ–ठाउँमा सडक खनिनुले पानीका मुहान सुक्दै गएका डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो। बिनास्टिमेट खनिएका सडकहरूले जंगल र पानीका मुहान नष्ट गर्ने गरेको उहाँले बताउनुभयो।

जंगल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो। जथाभावी सडक खन्दा पानीका मुहान जस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा संकट निम्त्याउने उहाँले बताउनुभयो।