सडकबाट बासमा पु¥यायो प्रहरीले

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

वर्षाको झरी होस् वा प्रचण्ड गर्मी, पुसमाघको चिसो मौसम होस् वा काठमाडौंको धूलो–धूँवा, कलिलो तथा बुढ्यौली उमेर, त्यसमाथि खुला आकाशमुनिको कहर सहँदै बस्न कसलाई पो मन लाग्ला र । तैपनि काठमाडौंका सडक किनारा, कुनाकाप्चा, फोहोरको छेउछाउ क्षेत्रमा कतिपय बालबालिका, असक्त, असहाय र वृद्धवृद्धाहरू कठिन अवस्थामा बस्न बाध्य छन्।

यस्तो दृश्यले कसको मन चसक्क नहोला। आफ्नै बाध्यताले काभ्रेका रमेश तामाङ ९नाम परिवर्तन० ५० वर्षको उमेरमा यस्तै निष्ठुरी सडकमा बास बस्न आइपुगे। गत वर्षको दशैं आउन लाग्दा उनी निकै खुसी थिए, तर दशैं मनाउन नपाउँदै घर छोड्न बाध्य भएपछि उनको जीवन भयानक निराशामा बदलियो। रमेश जस्तै बाध्यतामा पर्ने अन्य धेरै छन्।
गत माघमा सडकमा फेला परेको एक बेवारिसे शवको अनुसन्धानका क्रममा सडकनजिकै पेटीमा बसेका तामाङलाई प्रहरीले फेला पा¥यो। ‘मलाई आफ्नै परिवारले ठगे। सबैको हेलाहोचो कति सहनु, अब यही सडकबाहेक मेरो कुनै ओत लाग्ने ठाउँ नै छैन’ –तामाङले भन्नुभयो। आफ्नै घरपरिवारको तिखो वचन र तिरस्कार खप्न नसकेर उनले सडक रोजेको उहाँको भनाइबाट प्रष्ट हुन्छ। प्रहरीले उद्धार गरेपछि एक वृद्धाश्रममा पुनःस्थापना गरिएका उहाँ अहिले खुसी हुनुहुन्छ।

२०७५ पुस १ देखि माघ १६ गतेसम्म ४५ दिनभित्रको अवधिमा खुला आकाशमुनि बस्दै आएका वृद्धवृद्धामध्ये २५ जना मृत अवस्थामा भेटिए। निमोनिया तथा फोक्सोको संक्रमण र चिसोको कारण अधिकांशको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल पुग्ने प्रहरीलाई यस्तो हृदयविदारक घटनाले नछुने कुरै भएन। जसको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यस्ता वृद्धवृद्धा, रोगी, सडक बालबालिका एवं असहायको उद्दारमा प्रहरी जुट्यो।
प्रहरी उद्धार कार्यमा जुटसकेपछि गत पुस १८ देखि माघ १७ गतेसम्म १ महिनाको अवधिमा मात्रै १ सय ८१ जनालाई प्रहरीले उद्धार ग¥यो। तीमध्ये १ सय ३५ जना पुरूष र १९ जना महिला गरी जम्मा १ सय ५४ जना वृद्धवृद्धा रहेका छन् भने उद्धारकै क्रममा २० जना किशोर र ७ जना किशोरी गरी जम्मा २७ जना किशोरकिशोरीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय २४ जना मानव सेवा आश्रम बूढानीलकण्ठ, १३ जना हिमाली वृद्धआश्रम गोंगबु र ८ जनालाई वरिष्ठ नागरिक समाज सोह्रखुट्टेमा लगि पुनःस्थापना गरियो भने २७ जना किशोरकिशोरीलाई सोभर रिकभरी सेन्टरमा पुनःस्थापना गरियो। उद्धार गरिएका ९ जना वृद्धलाई आफ्नै घरपरिवारको जिम्मा लगाइएको छ। यसरी उद्धार गरिएका व्यक्ति १६ देखि ८२ वर्षसम्मका छन्।

काठमाडौं भृकुटीमण्डपस्थित बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार चालू आवको १० महिनाको अवधिमा २ सय ७१ जना बालक र १ सय ३८ जना बालिका गरी जम्मा ४ सय ९ जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन्। तीमध्ये १ सय ४८ जना बालक र ८१ जना बालिका गरी जम्मा २ सय २९ जनालाई पारिवारिक पुनर्मिलन गराइयो। १ सय २३ जना बालक र ५७ जना बालिका गरी १ सय ८० जना बालबालिकालाई बाल संरक्षणगृहमा राखियो।

चिसो सडक, खुला आकाश, खाने, पिउने समस्या, लुगाफाटोका साथै स्वास्थ्य सुविधाको अभावका कारण सडकमा रात बिताउनेहरूको जीवन जोखिममा रहन्छ। यस्ता मानिसहरूलाई मानवीयताको आधारमा उद्धार गरी पुनःस्थापना गर्न आवश्यक देखियो र यस कार्यलाई नेपाल प्रहरीले अभियानकै रुपमा सञ्चालन ग¥यो।

अभियानबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल भन्नुहुन्छ– ‘नागरिकको जीवन र अधिकार रक्षाको काम गर्ने प्रहरी संगठनले यस्तो दुःखमा परेका नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले अभियान थालिएको हो। यसले केही उपलब्धि हासिल गरेको छ। भावी दिनमा पनि अभियानलाई निरन्तरता दिन्छौं।’

सडक, मन्दिर पेटी र भत्केका संरचनामुनि कष्टकर जीवन बिताउनु मान्छेको रहर होइन। बाध्यतामा परेका यस्ता असहायको उद्दार गर्नु मानवीय कार्य हो। यस्ता उद्धारबाट एकातर्फ मानवीय सेवा र असहायलाई राहत त हुन्छ नै। अर्कोतर्फ राजधानीको सडक व्यवस्थापनका साथै सडक मर्यादा कायम र सभ्यता प्रदर्शन गर्न टेवा पुग्छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत थालनी गरिएका काममध्ये यो पनि एउटा सराहनीय काम हो। सडकमा बस्न वाध्य हुनुको कारण, उद्दारको उद्देश्य र प्राप्त उपलब्धिबारे प्रहरी नायब महानिरीक्षक पोखरेल भन्नुहुन्छ– ‘विपन्नता, परिवारसँग बेमेल र सामाजिक पीडाको कारण केही मानिस सडकमा आउने गरेको पाइएको छ। यस्तो अवस्था आउन नदिन र आएकाहरूको संरक्षण गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतना फैलाउने, घरमै सम्मान गर्ने र बाँच्ने वातावरण सिर्जना गर्न प्रहरी सक्रिय छ। यसका लागि राज्य, आमनागरिक र प्रहरीले एउटै योजनाका साथ काम गरेमा थप उपलब्धि हासिल हुन्छ।’

खुला आकाशमा कसैको बेवारिसे जीवन र मरण नहोस्। ओत नपाएकाले बास पाओस्। कसैको पीडा र व्यथाको अन्त्य होस्। प्रहरी, स्थानीय तह, सरोकारवाला, संघसंस्थाका साथै आमनागरिकले अपनत्वको महसुस गरून्। दीगोरूपमा मानवीय सेवाको पुण्य कार्यले निरन्तरता पाओस्। नेपाल प्रहरीको ध्येय यही हो। यस सम्बन्धमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ– ‘बालबालिका, वृद्धवृद्धा, रोगी, बेसहारा भएर मान्छेहरू सडकमा आएको पाइएपछि उद्धारमा लागिएको हो। सामाजिक विकृति र घरायसी कारणबाट यस्ता समस्या उब्जिने गरेका छन्। समस्या समाधानका लागि स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा उद्धार गर्ने र पुनःस्थापना गर्ने गर्दछौं। खाद्यान्न, लत्ताकपडालगायतको व्यवस्थापनमा पनि हाम्रो सहयोग रहन्छ। ठूलो शहर र धेरै जनघनत्वको कारण एकैपटक पू्रै समस्या समाधान हुन कठिन भए पनि विस्तारै समाधानका लागि अभियानलाई निरन्तरता दिँदै जानेछौं।’