फिल्म शुक्रबार मात्र रिलिज गर्न माग


नेपाल चलचित्र निर्माता संघले स्वदेशी र विदेशी फिल्म शुक्रबार पारेर मात्र प्रदर्शनमा ल्याउन माग गरेको छ।
‘नेपालमा चलचित्रको प्रदर्शनलाई सरल, सहज र व्यवस्थित बनाउनका लागि लामो समयदेखि निर्माता संघले चलचित्र विकास बोर्डको प्रत्यक्ष सहयोगमा चलचित्र प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र संघसँग सहकार्य र सम्झौता गर्दै आएअनुरूप नेपालभर प्रथमपटक सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका ९स्वदेशी वा विदेशी० चलचित्र चार ठूला चाडपर्व दशंै, तिहार, तीज र नयाँ वर्षका निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्यरूपमा शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धति रही सोहीअनुसार चलचित्र प्रदर्शन हुँदै आएको छ’, संघका महासचिव रोज राणाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असर पार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धति र प्रावधानको विपरीत शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतिबाट व्यवस्थित गर्नुको ध्येय विशुद्धरूपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनै पनि भाषाका चलचित्रलाई सर्वसुलभरूपमा प्रदर्शन हुने पद्धति र परिपाटीको विकास गर्नु रहेको हुँदा निर्माता संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्षसमक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ।’ विज्ञप्तिमा नेपाली चलचित्र उद्योगको हितका लागि सरोकारवाला निकायसँग वार्ता र छलफल गर्न निर्माता संघ सदैव तत्पर रहेको जनाइएको छ।

बलिउड स्टार सलमान खानको फिल्म भारतलाई आज बुधबार नै नेपालमा रिलिज गर्न नरोक्न जिल्ला अदालतले आदेश गरेपछि निर्माता संघले विज्ञप्ति जारी गरेको हो। भारतको नेपाल वितरकले बुधबार नै यो फिल्म रिलिज गर्नका लागि अदालतमा मुद्दा दायर गरेको थियो। यसअघि नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच स्वदेशी र विदेशी फिल्म शुक्रबार मात्र रिलिज गर्ने सहमति भएबमोजिम ठूला चाडबाहेक अन्य समयमा त्यसलाई लागू गरिँदै आएको थियो।