गायक स्वयम्भुराज निःशुल्क एकल साँझमा


गायक स्वयम्भुराज शाक्यको एकल सांगीतिक प्रस्तुति ओ प्रिय लिफः स्वयाः यही शनिबार हुने भएको छ।
मंगल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम गायक शाक्यको जन्मस्थान ललितपुरको हःखा टोलस्थित कोतमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। साँझको ५ बजे शुरू हुने कार्यक्रममा गायक शाक्यलाई संगीता शाक्य, निसा देसार, सुमन कपाली, अनु शाक्य, प्रियंका शाक्य र चन्द्रमान शाक्य गीत प्रस्तुतिमा साथ दिनेछन्। त्यो सँगै भूपेन्द्र बज्राचार्यको संयोजनमा ८ जना वाद्यवादकले प्रत्यक्ष वाद्यवादनमा सघाउनेछन्।

रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक÷गायिका र अर्को कोठामा प्रविधि र प्राविधिका साथ रेकर्ड गरिएको स्वयम्भुराजको गीत ओ प्रिय लिफः स्वयाः निकै लोकप्रिय गीत हो। कार्यक्रमको नाम उनको यही लोकप्रिय गीतबाट राखिएको हो। यो गीत गायक शाक्य र गायिका सपनाश्रीले ३ दशकअघि गाएकका थिए।
उनले एकल सांगीतिक प्रस्तुतिमा मविवि शाह, दिनेश अधिकारी, वंशीधर बज्राचार्य, प्रकाश सायमी, शाक्य सुरेन, चन्द्रमान शाक्य, तीर्थ माली, शान्त शाक्य, हेमन्त विवशका रचना गाउनेछन् भने शाक्यका साथै नातिकाजी, तीर्थ माली, मनराजा नकर्मी, नरेन्द्र प्यासी, चन्द्रमान शाक्य, वीरेन शाक्य, चन्द्रराज शर्माको संगीत पाएको गीत गुन्जिनेछन्। रेडियो नेपालको विशिष्ट श्रेणीका गायक शाक्य विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन्। उनले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ र बैंककमा समेत सांगीतिक प्रस्तुति प्रस्तुत गरिसकेका छन्। गायक शाक्यको हालसम्म ५ गीति अडियो एल्बमसहित २ सय ५० भन्दा बढी गीत छन्। यसभन्दा अघि ३ वटा एकल सांगीतिक प्रस्तुति दिइसकेका गायक शाक्यको यो प्रस्तुति दर्शकका लागि निःशुल्क आयोजना गरिएको पहिलो एकल प्रस्तुति हो।