नाचघरमा मन्त्रीको नेपाल गाथा


साहित्यमा शीतविन्दु उपनामबाट परिचित राजनीतिज्ञ एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गीतिनाटक नेपाल–गाथा राजधानीमा मञ्चन भएको छ।
उनको यो नाटक राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको छ। आजसम्मको नेपालको इतिहास उत्खनन गरिएको गीतिनाटक सोमबार राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्री र पूर्वप्रधानमन्त्रीहरूलगायतले सोमबार यो नाटक हेरेका थिए। नाटकमा रामापिथेकसदेखि गोपाल वंश, महिषपाल वंश, किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल, राणाकालको अन्त्यका लागि नदीमा हाम फालेर योगमायाले गरेको जलसमाधिसम्मका विषय समेटिएका छन्। राणाकालको समयमा मृत्युदण्ड दिइएका शहीदको योगदान, प्रजातन्त्र प्राप्तिको समय, २०१५ सालको आमनिर्वाचनपछि बीपी कोइराला प्रधानमन्त्री हुँदा जनतामा छाएको उत्साहदेखि २०१७ सालमा राजा महेन्द्रले अधिकार आफ्नो हातमा लिएको तथा विभिन्न आन्दोलन र घटनाक्रमलाई नाटकमा समेटिएको छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार नाटक पुनः मञ्चन गरिनेछ।