सार्वजनिक पिच व्यक्तिले बेचे मालपोतका कर्मचारीलाई उन्मुक्ति


मोतीराम तिमल्सिना, काभ्रे
लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो।

स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन्। विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेका हुन्।

‘सडक बिक्री गरेको उजुरी आएलगत्तै बिक्री गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ’, अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायले भन्नुभयो– ‘प्रारम्भिक अनुसन्धानले मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा उक्त सडक बिक्री भएको देखिएको छ।’

२०७१ असार २ गते घर बाटो प्रमाणित गरेको सिफारिसकै आधारमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा पास गरिदिएको छ। २०७१ साल असार २ गतेको सिफारिस पत्रका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोला·े मिजारले जग्गा खरिद गरेका थिए। साविक काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ३ ९क० को कित्ता नम्बर ६५२ को तीन आना जग्गा पटक–पटक खरिद–बिक्री भएको देखिन्छ।

पुरानै सिफारिसका आधारमा दोस्रोपटक ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोला·े मिजारले २०७३ वैशाख ७ गते ६ लाख ५० हजार मूल्य राखी भक्तपुर १७ घर भएकी मीना भैलले खरिद गरिन्। त्यही सिफारिसका आधारमा मीना भैलले २०७५ साल असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले २२ लाखमा खरिद गरे। मालपोत कार्यालयमा ४८ हजार राजस्व बुझाउँदै ५ हजार रुपियाँ लिखतमार्फत खर्च गरेका थिए। साविक धुलिखेल नगरपालिका वडा नम्बर ४ मा पटक–पटक सिफारिस लिन गएपछि सडकको सिफारिस हुन नसक्ने वडा अध्यक्ष रवीन्द्र कर्माचार्यले बताएपछि उनीहरूले पुरानै सिफारिसका आधारमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरूको मिलेमतोमा जग्गा बिक्री गरेका थिए।

२२ लाख रुपियाँमा राजमार्गको पिच सडककै छेउमा जग्गा फेला परेको भन्दै उनीहरूले खरिद गरेको प्रहरीकोमा दिएको उजुरीमा उल्लेख छ। ‘नक्कली ट्रेस नक्सा बनाएर अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेछन्’, उजुरीमा भनिएको छ– ‘जग्गा बिक्री गर्ने मीना भैल, धुलिखेल नपा–७ बखुण्डोलका लोकेन्द्र तोला·े र उनकी श्रीमती सोनु तोला·े रहेका छन्।

यसै गरी महाभारत गापा गोकुले–४ का ज्ञानबहादुर मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा २०७६ वैशाख १५ गते जाहेरी दर्ता गरिएको थियो। प्रहरीले एक साताअघि मात्रै भैललाई पक्राउ गरी अनुसन्धान शुरू गरेको हो। प्रहरीले सोमबार राति उजुरी परेका लोकेन्द्र, उनकी श्रीमती सोनुलाई पक्राउ गरेको छ।

‘सडककै जग्गा पटक–पटक बिक्री भइरहेको छ’, वडा अध्यक्ष रवीन्द्र कर्माचार्यले भन्नुभयो– ‘लगतकट्टा नभएकाले पिच सडक व्यक्तिहरूले बिक्री गरिरहेका हुन्।’ मालपोत कार्यालयले स्थानीय सरकारको सिफारिसबिना नै ५ वर्षअघिको सिफारिसका आधारमा कसरी जग्गा पास गरिदियो, रहस्यको विषय बनेको छ। स्थानीय सरकार निर्वाचित कार्य गरेको २ वर्ष भइसक्दा पनि पुरानै कागजातका आधारमा जग्गा पास हुनुले पनि मालपोत कार्यालयका कर्मचारीको मिलेमत्तोमा देखिएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो।

तत्कालीन समयमा धुलिखेल नगरपालिकामा कार्यरत कार्यकारी अधिकृतले घर–बाटो प्रमाणीकरण गरी सिफारिस दिएको आधारमा मालपोतले जग्गा पास गरिदिएको छ।
प्रहरीले पिच सडक खरिद बिक्री कार्यमा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान गर्ने योजना रहेको बताए पनि मालपोत कार्यालयका कर्मचारीलाई भने छुन सकेको छैन।