नीति तथा कार्यक्रममाथि छलफल शुरु


धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम माथिको छलफल प्रदेशसभामा आजदेखि शुरु भएको छ । छलफलमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सदस्यहरुले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भए पनि समेट्नुपर्ने कतिपय विषय छुट्न गएका बताउनुभयो ।

उहाँहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रतिपक्षी सदस्यहरुले गृहकार्य नगरी हतार हतारमा ल्याइएको नीति तथा कार्यक्रम परम्परागत र लक्ष्यहीन भएको टिप्पणी गर्नुभयो । उहाँहरुले गत वर्षको सरकारको नीति तथा कार्यक्रम र आगामी आवको नीति तथा कार्यक्रम अध्ययन गर्दा कतिपय विषयमा सरकार नै अस्पष्ट र अन्यौलमा परेको देखिएको बताउनुभयो ।

छलफलमा सत्ता पक्ष नेकपाका प्रदेशसभा सदस्यहरु दीर्घबहादुर सोडारी, महेशदत्त जोशी, बलदेव रेग्मी, लीलाधर भट्ट, कुन्ती जोशी, देवकी मल्ल, मानबहादुर सुनार, नन्दबहादुर साउँद, लालबहादुर खड्का र मानबहादुर धामीले भाग लिनुभएको थियो । यस्तै प्रतिपक्ष नेपाली काङ्ग्रेसका गोविन्दराज बोहरा, डिल्लीराज पन्त, दिव्यश्वरी शाह र कर्णबहादुर मल्लले भाग लिनुभएको थियो । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको आगामी आवको नीति तथा कार्यक्रम माथि प्रदेशसभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
रासस