मुसहर बस्तीमा सधैँ पानीकै समस्याः खोलाको पानी पिउन बाध्य


सुभेन्द्र दास, सिरहाको मिर्चैया नगरपालिका–९ स्थित बतहा खोलाको पानी पिउनु स्थानीय मुसहर समुदायको बाध्यता हो त्यही खोलाको किनारमा ६० घरपरिवार मुसहर समुदायको बस्ती छ । बस्तीका २ सयको हाराहारीमा रहेका मुसहर समुदाय त्यही खोलाको धमिलो पानी पिउँछन् । मुसहर समुदाय दलित समुदायको विपन्न वर्गमा पर्छ ।

शुद्ध पिउने पानीको सुविधा नहँुदा यहाँको मुसहर समुदाय धेरै पहिलेदेखि बताहा खोलाको पानीमा निर्भर छ । बस्तीकै ७० वर्षीय विल्टु मुसहरले आफ्ना समुदायका धेरै पुस्तादेखि बताहा खोलाको फोहोर पानी खाँदै आएको बताए । उनले भने, ‘मेरा बाजेहरूले पनि यही खोलाको पानी पिउँथे, अहिले मेरा नातिलाई पनि यही पानीको भर छ ।’

मिर्चैया नगरपालिका–९ का रामबाबु सदा खोलाको धमिलो र फोहोर पानी पिउँदा धेरै पटक विभिन्न खालका स्वास्थ्य समस्या आइपरेको बताउँछन् । वर्षाको बेलामा त खाने पानीको झनै समस्या हुने गरेको उनको भनाइ छ । वर्षा लागेपछि खोलामा धमिलो बाढी बग्छ ।

बाढी रोकिएपछि किनारमा कुवा खनेर खानेपानीको गर्जो टार्नुपर्ने उनीहरूको बाध्यता छ । स्थानीय ४५ वर्षीय रामनारायण मुसहरले भने, ‘अविरल वर्षा हुँदा बाढी रोकिँदैन, त्यतिबेला भने हामी पानी नै खान पाउँदैनौँ, धेरै प्यास लागे खोलाकै धमिलो पानी खान बाध्य हुन्छौँ ।’

सिरहा क्षेत्र नं. ४ मा पर्ने यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभा सदस्यको चुनाव जितेका थिए ।

यता स्थानीय निकायको चुनावपछि सिहंदरबार गाउँमै आउँछ भनेर नेताहरूबाट सुनेका स्थानीयलाई अहिले स्थानीय सरकारले समेत बेवास्ता गरेको छ ।

‘जुनसुकै व्यवस्था आए पनि हामी गरिबलाई कसैले हेरेन, पानी समेत शुद्ध पिउन पाएका छैनौं’ स्थानीय बिल्टु मुसहरले दुःखेसो पोखे, ‘हामी दलित नेताको भोट बैङ्क मात्र भयौँ, स्थानीय सरकारबाट हामीले सामान्य सुविधा पनि पाउन सकिरहेका छैनौं ।’

यहाँका दलितहरूले स्थानीय नेताहरूलाई पानीको लागि पटक–पटक गुहारे पनि कुनै सुनुवाइ भएन । दलितका नाममा खुलेका दर्जनौं सङ्घ–संस्थाले पनि उनीहरूको समस्यामा ध्यान दिएका छैनन् । गाउँका सबैजसो अरुकोमा ज्याला मजदुरी गरेर दैनिक गर्जो टार्ने गर्छन् ।

ज्यालामजदुरीले जीविका चलाइरहेका उनीहरू आफ्नै प्रयासले खानेपानीको जोहो गर्न सक्दैनन् । ‘पानीको लागि इनार (कुवा), धारा बनाउन धेरै रकम खर्चिनु पर्ने भएकोले हाम्रो बुताले भ्याउँदैन, अरु कसैले पनि बनाइदिएनन्’ –रामबाबु सदायले भने ।

मिर्र्चैया नगरपालिका–९ का वडाध्यक्ष मोहन पोखरेलले आफूसँग ठूलो बजेट नभएकाले यहाँका दलित समुदायको खानेपानीको व्यवस्था गर्न नसकेको बताए ।

उनले भने, ‘६० घर दलितलाई खानेपानीको प्रबन्ध मिलाउन बजेट धेरै चाहिने भएकाले नगरसँग गुहार मागे पनि कुनै सुनुवाइ भएको छैन । थोरै बजेटले त्यहाँको पानीको समस्या समाधान गर्न सकिन्न