नेपाल सेल्स मिसन युरोप–२०१९ सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल सेल्स मिसन युरोप–२०१९ भियानामा सम्पन्न भएको छ। मिसन वार्सामा मे २७, भियानामा मे २९ र म्युनिखमा मे ३१ मा सम्पन्न भएको हो। नेपाल पर्यटन बोर्डद्वारा आयोजित सेल्स मिसनमा दुई नेपाली ट्राभल कम्पनी– द एक्सप्लोर नेपाल र इन्टर टुर्स नेपालको सहभागिता रहेको थियो। सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीहरूले युरोपियन समकक्षी टुर अपरेटरहरूसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढीभन्दा बढी पर्यटक भिœयाउने लक्ष्य रहेको छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर विक्रम राणाले उक्त सेल्स मिसनमा नेपालका गन्तव्यको प्रस्तुतीकरण दिनुभएको थियो जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षण समावेश गरिएका थिए। उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल भ्रमण वर्ष २०२० को बारेमा चासो राखेका थिए।

जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले यस किसिमको सेल्स मिसनले युरोपका पर्यटन व्यवसायीहरूसँग सम्बन्धमा घनिष्टता ल्याई नेपाली बजार बलियो र विस्तार गर्ने बताउनुभयो।

नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिसनमा सहभागीमध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो। २०१८ मा अन्तर्राष्ट्रिय पर्यटन आगमन २४ दशमलव ७७ प्रतिशतले बढेर १० लाख पुगेको थियो। हालको वृद्धिदर र अन्तर्राष्ट्रिय प्रवद्र्धनले पर्यटनको सकारात्मक प्रवृत्तिलाई इंगित गरेको छ।