‘शाहीलाई यातना दिइएको छैन’


दीपेन्द्र शर्मा, सुर्खेत
आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरी जनाएको छ।
शाहीलाई पक्राउ पुर्जीबिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई हिरासतमा नराखेको बताएको हो।

पक्राउ परेलगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौं पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेश विक्रम शाहले जानकारी दिनुभयो। गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोस्ट भएको थियो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फबाट प्रहरीमा जाहेरी दिइएको थियो। पत्रकारहरूलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका शाहीलाई जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुलामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। खुलामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भएलगत्तै पक्राउ पुर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरूले प्रहरीमाथि ढुंगामुडा गरेको डीआईजी शाहले बताउनुभयो।

‘शाहीका समर्थकहरूले प्रहार गरेको ढुंगा लागेर ६ जना प्रहरीसहित शाही पनि घाइते भएका हुन्’ –शाहले भन्नुभयो। शाहीलाई खुलामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर, कुनै किसीमको यातना नदिइएको उहाँले बताउनुभयो। पक्राउलगत्तै शाहीलाई मेडिकल चेकजाँचपछि सीधै काठमाडौंको नाइट बसमा राखेर आवश्यक कारबाहीका लागि पठाएको शाहले जानकारी दिनुभयो। शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबल्दार प्रकाश बुढा र जवानहरू रामसागर बर्मा, जितबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका थिए प्रहरीले जनाएको छ।। शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक, दीपक शाही, सिंजा जुम्लाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भुसाल र रजिना परियारलाई पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेकाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।