सारेगमपको फाइनलमा पुगे आयुष र प्रितम


नेपालका दुई बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य भारतीय बालगायन रियालिटी शो सारेगमप लिटल च्याम्पको उत्कृष्ट ६ मा पुग्न सफल भएका छन्।
जी टिभीबाट प्रसारण हुँदै आएको प्रतियोगितामा गत साता उत्कृष्ट ९ मा परेका अन्य सहभागीलाई उछिन्दै शोका निर्णायक र दर्शकको मतका आधारमा उनीहरू फाइनलमा पुग्न सफल भएका हुन्। १२ वर्षका आयुष र ११ वर्षका प्रितम भारतभरिका २ हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै फाइनलका लागि छनोट भएका हुन्। यस साता सेमिफाइनल पर्फपमेन्समा प्रितमले तडप तडप इस दिलमे बोलको गीत गाएका थिए भने आयुषले तुम मिले दिल खिले भन्ने गीत गाएर सबैको मन जितेका थिए। गायकद्वय सान र अमाल मलिक तथा गायिका ऋचा शर्मा एवं अतिथि गायक संगीतकार आनन्द राजलगायत १२ जनाको निर्णायक मण्डलले उनीहरूको गायकीको खुलेर तारिफ गरेका थिए। यस साताको शोमा सहभागी सलमान खान र कट्रिना कैफले प्रितम र आयुषको प्रशंसा गर्दै यी दुई नेपालकै गौरव भएको बताएका थिए। आयुष र प्रितमसँगै मोहम्मद फैज, अनुष्का पात्र, आस्था दास र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका छन्।

२ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बाल गायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका फाइनलिस्टमध्येका एक आयुष केसी, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरस्थित मोर्डन बोर्डि«ङ स्कुलमा अध्ययनरत छन्। आयुषलाई गायक तथा संगीतकार अमृत क्षत्रीले संगीत सिकाएका हुन्। सुरशाला जुनियर आइडल पहिलो संस्करणका अर्का फाइनलिस्ट सुनसरी, इटहरीका प्रितम आचार्य इटहरीस्थित विश्व आदर्श स्कुलमा अध्ययनरत छन्। सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ। प्रतिस्पर्धामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्। यस वर्ष नेपालका ८ प्रतिस्पर्धीले सहभागी जनाएका थिए। यी दुईलाई जिताउन जी फाइभ एप्समार्फत भोट गर्न सकिनेछ।