भुवन अब भिलेन रीमा जोडी


अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी लामो सयमपछि पुनः पर्दामा देखिने भएका छन्। उनी पहिलोपटक खल चरित्रमा समेत देखिने भएका छन्।
निर्माणाधीन फिल्म मिस्टर नेपालीमा भुवन खल भूमिकामा देखिने भएका हुन्। उनी यो एउटै फिल्ममा दुई चरित्रमा देखिनेछन्। एक भूमिकामा उनी भिलेनका रूपमा देखिनेछन् भने अर्को भूमिकामा नाचगानसमेत गर्ने अभिनेताका रूपमा प्रस्तुत हुनेछन्। ‘यसमा मेरो डबल रोल हुनेछ। एउटा ओल्ड प्याटेनमा गाउँको जमिनदारका रूपमा भिलेन भएर देखिनेछु। अर्को भूमिकाचाहिँ पोजेटिभ रोल हुनेछ। जो योङरूपमा देखिनेछ। मैले यो भूमिकामा डान्ससमेत गर्नेछुु’, भुवनले भने– ‘मलाई सधैं फरक भूमिका गरौं भन्ने लाग्थ्यो। त्यसैले खलपात्रको भूमिकामा देखिँदै छु। त्यसैले नै यसमा काम गर्न लागेको हुँ।’

देवचुली फिल्म्स्को ब्यानरमा निर्माण हुने मिस्टर नेपालीको मंगलबार निर्माण घोषणासहित सुटिङ आरम्भसमेत गरिएको छ। देवनारायण भुसालको लेखन तथा निर्देशन तथा प्रेमराज दाहालको निर्माणमा निर्माणाधीन फिल्मको नवलपरासीमा सुटिङ हुनेछ। फिल्ममा अभिनेता भुवन केसीको जोडीका रूपमा नायिका रीमा विश्वकर्मालाई देखिनेछ। नायिका विश्वकर्माले भुवन केसीसँग स्क्रिन शेयर गर्न पाउँदा खुसी लागेको बताइन्। फिल्ममा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन् भने साहिल श्रेष्ठ र कुसुम राउत नवकलाकारका रूपमा देखिनेछन्। फिल्ममा सुभास भुसाल र दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको एक्सन रहनेछ। निर्देशक भुसालका अनुसार फिल्मले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ। यसले विशेष गरी विदेशमा रहेका नेपालीहरूमा नेपालप्रतिको माया झल्काउने उनले बताए।