स्पेनमा बस्ने ठग नेपालमा ठगिने युवती


दीपक रिजाल, काठमाडौं
सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन्।

विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो कृष्ण दंगाल। उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ।
विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ।

यसभन्दा अघि पनि यस्तै ठगी मुद्दामा जेल परेका दंगाल जेलबाट बाहिरिएपछि आफ्नो ठगी धन्दालाई निरन्तरता दिँदै आफ्नै दाइको सालीदेखि श्रीमतीको फुपूको छोरीलाई समेत ठगी गरेको उजुरी परेको सीआईबीका एक अनुसन्धान अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

कतिपय युवतीलाई नेपालमा विभिन्न नामको कम्पनी खोल्न लगाएको र त्यही कम्पनीमार्फत भिजिट भिसामा स्पेन ल्याउन सजिलो हुने भन्दै कम्पनी दर्ता गर्न लगाएको पीडितहरूले बताएका छन्। दंगालको ठगीमा परेकी सविना गौतमले कारबाहीका लागि आफूले सीआईबीलाई गुहारेको बताउनुभएको छ।

‘कृष्ण दंगाल मेरो भिनाजुको भतिज हो, उसले मलाई स्पेन लैजान्छु भन्दै कम्पनी पनि दर्ता गराउन लगायो। कम्पनी पनि दर्ता गरें, ६ लाख रुपियाँ पठाउनु भनेपछि पटक–पटक गरेर ६ लाख रकम पाएपछि ऊ मसँगको सम्पर्कबाट बाहिरियो।’ –अमृताले दुखेसो पोख्दै ठगिएको कथा सुनाउनुभयो।

यसअघि सिंगापुर तथा अन्य आकर्षक देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा जेल परेका दंगालले नेपाल प्रहरीको चालचलन शाखाबाट पुलिस रिर्पोट लिएर नेपालस्थित जर्मन दूतावासबाट सेन्जेन भिसा लिएर स्पेन पुगेको पीडितहरू बताउँछन्।

प्रहरीका उच्च तहका अधिकृतलाई समेत प्रभाव पार्नसक्ने खुबी रहेको दंगालले प्रहरी प्रधानकार्यालयले प्रदान गर्ने पुलिस रिपोर्टमा ठगीको अभियोगमा जेल परेको भन्ने कुरालाई उल्लेख नै नगरी चालचलन राम्रो भएको रिर्पोट कसरी लियो भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

अबैध रूपमा स्पेनमा बस्दै आएका दंगालले अहिले त्यहाँ बैध रूपमा बस्नका लागि कागजात बनाउने कामलाई अगाडि बढाएको समेत पीडितहरूले बताएका छन्।
पछिल्लोपटक दंगालले एक दर्जनभन्दा बढी युवायुवतीबाट ३० लाखभन्दा बढी ठगी गरेको उजुरी प्रहरीकहाँ पुगेको छ।

यसअघि २०७२ पुस ६ गते जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा दंगालविरुद्ध बिगोबराबरको रकम जरिवाना र जेल सँजाय तोकेको थियो।