मुम्बईमा रेलबाट खसेर नेपाली युवकको मृत्यु


अछाम ।
भारतको मुम्बईमा रेलबाट खसेर यहाँका एक युवकको ज्यान गएको छ । मङ्गलसैन नगरपालिका–८ वलिगाउँका ३० वर्षीय मोहन परियारको भारत गुजरातको बापीबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।

रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेका उनका गाउँले कमल रावलले जानकारी दिनुभयो । नेपालबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेर घटनास्थलमै ज्यान गएको रावलले बताउनुभयो ।

गुजरातको बापीमा काम गर्दै आएका मोहन आफन्तसँग महाराष्ट्रको ठाणेसम्म पुगेकी श्रीमती डुप्की परियारलाई लिनका लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए । घरबाट आएकी श्रीमती डुप्की परियार भेट्न नपाउँदै ठाणे जाने क्रममै मुम्बईको पालघरमा मृत्यु भएको हो । भारतको पालघरमा शवपरीक्षण भएपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरिएको बताइएको छ ।
रासस