वीरगन्जको एक होटलमा आगलागी, एक अख्तियारको फन्दामा


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा सञ्चालित एक होटलमा आइतवार राति आगलागी भएको छ । महानगरपालिकाको वडा नम्बर २१ मा भारत उत्तर प्रदेश घर भएका गुड्डु पराजुलीले संचालन गरेको होटेलमा आगलागी भएको हो । आगलागीबाट २ लाख ११ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगालीबाट १० फिट लम्बाई १५ फिट चौडाई जस्ताको छाना, बाँस, खरको टाटी भएको घर आंशिक रूपमा जलेको छ । त्यसैगरी आगलागीबाट ना१प ५९५२ नम्बरको मोटरसाइकल, फ्रिज, काठको घुम्ती, भाडावर्तन र किराना सामानसमेत नष्ट भएको छ ।

यसैबीच पर्साको जगरनाथपुर गाउँपालिकाका विद्यालय निरीक्षक राजेश्वर चौरसियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले पक्राउ गरेको छ । अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले चौरसियालाई आइतवार बेलुका पक्राउ गरेको हो । ३५ जनाभन्दा बढी नक्कली शिक्षकलाई राहत, अस्थायी र करारमा नियुक्त गरेको घटनाका सम्बन्धमा छानविन गरिरहेको अख्तियारले विद्यालय निरीक्षक चौरसियालाई थप अनुसन्धान र कारबाहीका लागि आइतवार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रवक्ता देवकुमार राईले अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोप विद्यालय निरीक्षक चौरसियालाई लागेको हुनाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

चौरसियालाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइने र केन्द्रले नै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रवक्ता राईको भनाइ छ ।पर्सा जिल्लाका विभिन्न विद्यालयमा फर्जी तरिकाबाट शिक्षक नियुक्त गरी जगरनाथपुर गाउँपालिकामा सरुवा गरेर चौरसियाको सञ्जालले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ । यसअघि अख्तियारले जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि बयान लिएको थियो ।