सिरहाको ठाडी भन्सारमा घूसखोरी !


सुभेन्द्र दास लहान, लहान ।
चारपाँग्रे भारतीय नम्बरको गाडिको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी) को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ ।

एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर, ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार जेठ १५ गतेदेखि ५ सय रुपैयाँ गरेको छ । तर, ठाडी भन्सारका कर्मचारीहरुले ५ सय ५० रुपैयाँ लिने गरेको छ । भारतीय गाडीले एक सत्ताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३५ सय रुपैयाँको ठाउँमा साढे ३७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान १९ का सँदीप यादवले बताए ।

नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए ।

ती भन्सार कर्मचारीले तोकिएको शुल्क भन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन चार लाख रकम उठाउने गरेको भगवानपुर ईनरुवाका रामकुमार यादवले बताए । त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।

अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र १०० जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने ‘यस्तो घुसखोरीलाई कारवाही गर्नुपर्छ ।’ ‘आवश्यक अनुसन्धान गरी चाडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने’ बताए ।