हिमालयन ट्राभल मार्टः तेस्रो संस्करण बिहीबारदेखि


काठमाडौँ ।
नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा स्थापित गराउने उद्देश्यका साथ हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण यही जेठ २३ देखि २६ (जुन ६–९, २०१९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।

स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विज्ञहरुको जमघट रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने मेलामा नेपालसहित ४३ देशका करीब ७०० जनाको सहभागिता रहनेछ । यस पटकको व्यवसायीसँग व्यवसाय (बिटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र छ वटा मुलुक ९नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड० बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने भएका छन् । मेलामा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिले समेत सहभागिता जनाउनेछन् ।

सन् २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिँदै आएका मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने सशक्त ‘ब्राण्ड’को रुपमा विकसित हुँदै गएको बताइन्छ ।

नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु स्थापित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको पाटा नेपालका अध्यक्ष सुनील शाक्यले बताउनुभयो । क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मेलाले नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा पाटा नेपालले मेलाको आयोजना गर्न लागेको हो । मेलाले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारबाट मेलामा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोक प्रियता पनि बढ्दै गएको आयोजकको भनाइ छ ।

देशको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो ‘इभेन्ट’का रुपमा स्थापित भएको यस मेला प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलाको रुपमा स्थापित हुँदै गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले बताउनुभयो । उहाँले विश्वका प्रख्यात वक्ताहरुको जमघट हुने मार्टले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले नेपाल सुरक्षित र आकर्षित गन्तव्य हो भन्ने सन्देश विश्वलाई प्रवाह गर्न मेला उपयोगी हुने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई लक्षित गर्दै आगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो ।

हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरु बीच व्यापार आदानप्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपालले विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो । मेलामा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्षको निर्धारित लक्ष्य प्राप्तिमा समेत केन्द्रित रहने उहाँको भनाइ छ ।

मेलाको तेस्रो दिन जेठ २५ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी गरिने कार्यक्रम रहेको छ । करीब खर्च हुने करीब रु छ करोडमध्ये बोर्डले रु दुई करोड उपलब्ध गराउने बताइएको छ ।
रासस