नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न


बर्दिया ।
गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत बर्दियास्थित कृष्णसार रिसोर्टमा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजना र अग्रसरतामा बर्दियास्थित ध्रुव मावि, बंगलामुखि मावि, कोटही मावि र मकदेव माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ तथा आसरा सुधार केन्द्रकी सचिव महिमा शाह समेतले समुदाय(प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले लागूऔषध दुर्व्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।