दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

0
Shares

इस्लामाबाद ।
दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गर्नेछ ।

बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन् ।

“बेलायती ध्वजाबाहक विमानसेवा शुरु भएको छ । धेरै किसिमबाट यति निकट दुबै मुलुकबीचको सम्बन्धलाई अझ निकट ल्याएको छ,” पाकिस्तानका लागि बेलायती उच्चायुक्त थोमस ड्रयूले बताउनुभएको छ ।

हालसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले मात्र दुबै मुलुकबीच सिधा उडान गर्दै आएको थियो । म्यारिओट होटलमा आक्रमणपछि दुई मुलुकबीचको हवाई यात्राका लागि मध्यपूर्वका विमानसेवाहरु खासगरी एतिहाद र इमिरेट्समा निर्भर रहनुपर्ने बाध्यता थियो ।

पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीहरुले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो । त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन् ।

पाकिस्तानले पछिल्ला १५ वर्ष मुलुकभित्रै सक्रिय लडाकू समूहसँग सङ्घर्ष गर्नु परेको थियो जसका कारण हजारौंको ज्यान गइसकेको छ ।

तर पाकिस्तानको अवस्था पछिल्ला केही वर्षदेखि नाटकीय रुपमा सुधार आएको छ ।
रासस