रुकुम अस्पतालको स्वरुप फेरियो


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेको स्वरुप फेरिएको छ । जीर्ण बनेको अस्पताललाई नयाँ जीवन दिन भौतिक संरचना मर्मतको काम गरिएको हो । झण्डै ३१ वर्षपछि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि ६० लाख बजेट दिएपछि काम भएको हो ।

भवनका जस्ता फेर्न, भित्तामा पलाष्टर गर्ने, टायल विछ्याउने तथा सडक निर्माणको काम गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो । २०४५ सालमा त्यतिबेलाको जनसंख्यालाई मध्यजनर गरी स्थापना गरिएको अस्पतालको भौतिक संरचनालाई लामो समयसम्म पुनःसंरचना गरिएको थिएन ।

अस्पतालको भौतिक संरचना पुनःनिर्माण र नयाँ प्रबिधीहरु थपिएपछि अस्पतालको सेवा थप प्रभावकारी भएको अस्पतालका डा. महेश चौलागाईले बताउनुभयो । पूराना बेड विरामीका लागि उपयुक्त नभएपछि नयाँ बेड खरिदको पनि तयारी गरिएको छ ।

त्यसैगरी अस्पतालको भौतिक संगै थप प्रबिधी र कर्मचारी ब्यवस्थापनमा पनि सोचिरहेको व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओली बताउनुहुन्छ । दैनिक एक सय देखि डेढ सय सम्म विरामी आउने सल्ले अस्पताल १५ शैयाको मात्रै छ । ५० शैयाको अस्पताल बनाउन बेलाबेला पहल गरिएपनि हालसम्म सफल हुन सकेको छैन । अस्पतालको सेवा तथा संरचनालाई समयानुकुल बनाउन सकेमा रुकुम पश्चिम र रुकुम पूर्व संगै अन्य छिमेकी जिल्लाका नागरिकहरुलाई समेत सहजता हुने देखिन्छ ।