विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग


जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्यटोकियोमा पर्छ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरूले जनाएका छन् ।

यस प्रयोजनका लागि चारवटा रोबोट परिचालन गरिनेछ । स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ती रोबोट १।२० मिटर उचाइका छन् ।

ती रोबोटमा ३ सय ६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिनेछ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यो प्रणाली यही जुन ३ तारिखबाट सुरु गरिने उक्त विमानस्थल प्रशासनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकुद हुँदैछ । त्यस समयमा निकै धेरै विदेशीहरूको आगमन हुने र सुरक्षाकर्मीहरूको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरूले जानकारी दिएका छन् ।
विमानस्थल प्रशासनले दिएको जानकारीअनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुईवटा र टर्मिनल २ मा दुईवटा रोबोटको जडान गरिने जनाइएको छ ।

जापानले कामदारको संख्या कटौती गर्ने नीति लिइरहेको छ, जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरी सकिएको छ ।

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रवद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ ।
एजेन्सी