प्रतिबन्ध लगाएपछि विप्लव समूह आक्रोशित !


नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई गत फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । त्यसपश्चात नै विप्लव समूह अझ धेरै आक्रोशित बन्दै आएको हो ।

अहिलेसम्म बम पड्काउनेदेखी नेपाल बन्दसमेत गरेको विप्लव समूहले सोमबार भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामका प्रहरी चौकी नै कब्जा जमाउने प्रयत्न गरेको छ ।

विप्लवले जेठ १२ पनि काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोट गरायो तर विस्फोटमा आफ्ने समूहका चार कार्यकर्ताको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

सोलुखुम्बुमा काठमाडौँबाट थप सुरक्षाकर्मी

चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।

आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेको सूचना प्राप्त भएको छ ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो ।

सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।