६६ हजार बिरुवा अनुदानमा


मोतीराम तिमल्सिना, काभ्रे
डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले चालू वर्षमा खर्च गर्ने गरी प्रदेश सरकारबाट प्राप्त कार्यक्रमहरूका बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

‘आर्थिक वर्षको अन्त्यमा प्राप्त कार्यक्रमलाई प्रभावकारी बनाउन बृहत् प्रचारप्रसार गर्न अन्तरक्रिया गरिएको हो’, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख बद्रिकुमार कार्कीले भन्नुभयो– ‘६६ हजार बिरुवा चालू वर्षभित्र अनुदानमा उपलब्ध गराइनेछ।’ जिल्लाका लागि धसिंग्रेको प्राकृतिक व्यवस्थापन, अल्लो, अग्रेली, लोत्ताको प्राकृतिक वृक्षरोपण (पकेट क्षेत्र), वृक्षरोपण प्रवद्र्धन कार्यक्रम, वन नर्सरी प्रवद्र्धनलगायतका कार्यक्रम प्राप्त भएका छन्।

५१ लाख रुपियाँ बजेट प्राप्त भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सामुदायिक वन उपभोक्ता महासंघअन्तर्गतका समूह वनका अध्यक्ष, कृषकहरू, जटिबुटीको व्यापार गर्ने व्यावसायीहरू तथा वनसँग सम्बन्धित व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया गरी वृक्षरोपणको सम्भावित क्षेत्र र स्थायित्वका बारेमा धारणा संकलन गरिएको थियो।

जडीबुटीअन्तर्गत सतुवा, चिराइतो, अर्गेली, टिम्बुर, रुदाक्षका ६६ हजार बिरुवाका लागि रकम विनियोजन भएको छ। ‘स्थानीय सरकारमार्फत पकेट क्षेत्र निर्माण गरी बिरुवामा अनुदान उपलब्ध गराउनुपर्छ’, बेथान्चोक गाउँपालिका–२ का अध्यक्ष भगवान् घिमिरेले भन्नुभयो– ‘प्रभावकारी बनाउन स्थानीय सरकारलाई उत्तरदायित्व बोध गराउनुपर्छ।’ लोठसल्लाका २ हजार बिरुवा खरिदका लागि आएको रकम खर्च नगर्न कृषकले डिभिजन वन कार्यालयलाई सुझाव दिए। ‘गत वर्षहरूमा वितरण गरिएको लोठसल्लाका बिरुवा बिक्री हुन सकेका छैनन्’, कृषक भीमप्रसाद तिमल्सिनाले भन्नुभयो– ‘बिक्री गर्ने र प्रयोगमा आउने सुनिश्चित नभई बिरुवा लगाएर मात्रै कृषकलाई भार पार्ने र राज्यको सम्पत्ति दुरुपयोग हुने क्रम रोकिनुपर्छ।’

वृक्षरोपणका लागि ४ हजार वटा सतुवा, ४ हजार वटा रुद्राक्ष, ३० हजार वटा चिराइतो, २० हजार अर्गेली र ८ हजार टिम्बुरका बिरुवामा अनुदान दिइनेछ। आयआर्जनका लागि विकासे कलमी अमला, बेल र बयर, जामनु–फडिर, इमाली, ओखर, पिकानट, मेकाडामिया, ड्रायगनफ्रुट, जापानिज कटुसलगायतका बिरुवाहरू खरिद गरी कृषकहरूका लागि वितरण गर्न प्रदेश सरकारले १२ लाख रकम उपलब्ध गराएको छ। कबुलियती बनमा आर्थिक उर्पाजन गर्न अम्रिसो खेति गर्न डिभिजन वन कार्यालयले कृषकलाई समूहमार्फत सहयोग गर्न सक्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले बताउनुभयो।

जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रका लागि लाप्चे कबुलियती वन अन्तरसमूह खानीखोला गाउँपालिकाका लागि ४ लाख सोलार ड्रायर खरिदका लागि अनुदान उपलब्ध गराइएको छ भने इलेक्ट्रिक ड्रायरका लागि हरेकृष्ण हर्बल सप्लायर्स भेडासिंग काठमाडौं भई पनौती नगरपालिका–८ खरिबोटमा रहेको संस्थालाई ४ लाख उपलब्ध गराइएको छ। चण्डेश्वरी जडीबुटी उद्योग बनेपा नगरपालिका–३ नम्बर कासिभञ्ज्याङका लागि कच्चा पदार्थ राख्ने ट्रस्ट निर्माणका लागि २ लाख उपलब्ध गराइएको छ।

जडीबुटी खेती विस्तार र भण्डारणका लागि बुडोल जडीबुटी उद्योग बनेपा–६ ले ७ लाख प्राप्त गरेको छ। कोरोना मेडिकल एन्ड हेल्थ रिसर्च पनौती–३ ले ३ लाख जडीबुटी खेती विस्तारका लागि प्राप्त गरेको छ। सहकारीमार्फत जडीबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि चमत्कार सहकारी खानीखोला गाउँपालिका–७ ले १५ लाख अनुदान प्राप्त गरेको छ भने सप्तऋषी बहुउद्देश्यीय सहकारी महाभारत ५ बुढाखानीले ५ लाख प्राप्त गरेको छ।