सञ्चार प्रविधिको दुरुपयोग, आत्महत्याका घटना बढ्यो


विनोद सिंह विष्ट, बैतडी
पछिल्लो समय बैतडीमा देहत्याग (आत्महत्या) का घटनाहरू बढ्दै गइरहेका छन्। प्रत्येक वर्ष आत्महत्याका घटनाहरूमा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक छ।

व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोगलगायतका कारणले आत्महत्याका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो। आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको र त्यसमा पनि ४० वर्षभन्दा कम उमेरकाको संख्या धेरै रहेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १२ पुरुष, १७ महिला र १ बालिका रहेको छ। यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा ३६ जनाले आत्महत्या गरेका थिए। जसमा १३ पुरुष, २२ महिला र १ बालक रहेका छन्। गत आर्थिक बर्षमा ३१ जनाले आत्महत्या गरेका थिए। जसमा १२ पुरुष, १३ महिला, ३ बालक र ३ बालिका रहेका छन्।

आत्महत्याका घटनामा वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका
सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरूबाट पनि जनचेतना जगाउने कार्य जारी।

 

चालू आर्थिक वर्षको अहिलेसम्म २१ जनाले आत्महत्या गरिसकेका छन्। यसमा पनि महिलाकै संख्या बढी रहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो।

जिल्लामा आत्महत्याको बढ्दो संख्या न्यूनीकरण गर्न प्रहरीले अभियानसमेत थालेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक विकृति विसंगति अन्त्यका लागि जिल्लाभरि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । यसका साथै आत्महत्याका घटनामा वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरूबाट पनि जनचेतना जगाउने कार्य जारी राखेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ छ

आत्महत्या कुनै एक व्यक्ति निकायले न्यूनीकरण गर्न नसक्ने र यसका लागि सबै पक्षले जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने उहाँको भनाइ रहेको छ।

आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेकाले के कारणले तनाव भएको हो त्यो कारण पत्ता लगाई न्यूनीकरण गर्न आवश्यक रहेको मनोविज्ञान सम्प्रदाय नेपाल(टिपस)का डाक्टर नरेन्द्र ठगुन्नाले बताउनुभयो। ‘आत्महत्याका घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्छ’, उहाँले भन्नुभयो– ‘आत्महत्या एक रोगजस्तै देखा परेको छ ।’

‘बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी छ । आत्महत्या गर्नेले खास गरेर कसैबाट पीडित भएर गर्ने भएकाले सम्झाउनतर्फ लाग्नुपर्छ। आत्महत्या मानसिक बिरामी भएकाले रोकथामका लागि परिवारले पनि सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘घरेलु हिंसा न्यूनीकरण गर्न सके आत्महत्या गर्ने दर पनि घट्छ।’

तनावमा रहेका व्यक्ति घोरिने, चिट्चिट गर्ने, बेला–बेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागूपदार्थ सेवनलगायतका लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनुका साथै त्यस्तो व्यक्तिलाई सम्झाई बुझाई गर्नुपर्ने, एक्लै यताउति जान नदिने गर्नुपर्ने डाक्टर ठगुन्नाको सुझाव रहेको छ। यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनलगायतका कारणहरू रहेको प्रहरीको अनुसन्धान रहेको छ।

आत्महत्यालाई कम गर्न प्रहरीले जनचेतनाको कार्यक्रम व्यापकरुपमा सञ्चालन गरिरहेको भए पनि यो नियन्त्रणमा चुनौती रहेको बताइएको छ। आत्महत्या गर्नेले खास गरेर कसैबाट पीडित भएर गर्ने भएकाले सम्झाउनतर्फ लाग्नुपर्ने रोकथामका लागि परिवारले पनि सहयोग गर्नुपर्ने प्रहरीको भनाइ रहेको छ।