डुबेर दुई विद्यार्थीको मृत्युपछि चर्किएको आन्दोलन सहमतिमा रोकियो


रामधन राई, खोटाङ ।
जेठ–१९, शैक्षिक भ्रमणका क्रममा पौडी खेल्दा डुबेर मृत दुई विद्यार्थीका आफन्तले खोटाङमा शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि रोकिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले विभिन्न माग राखी चर्को सुरु गरेको नारावाजी र जुलुससहितको प्रदर्शन आईतबार बेलुकी रोकिएको हो ।

दिक्तेलस्थित दिक्तेल प्राविधिक शिक्षालयले अध्ययन भ्रमणमा मेवाखोला हाइड्रोपावर अवलोकनका लागि लैजाने क्रममा खोलामा पौडी खेल्दा सव ईन्जिनियर पढिरहेका विद्याथीद्वयको मृत्यु भएको थियो ।

आफन्तले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति, प्राविधिक शिक्षालय खारेज र कारबाहीको माग गर्दै दिक्तेलबजार बन्द गराउनुका साथै प्रशासनमा समेत प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत नाराबाजी गरेका थिए । आफन्तले जिल्ला अस्पतालमा पनि शनिबार राति अबेरसम्म प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको दुई पक्षीय छलफलमा मृतकका आफन्तलाई पाँच लाख रुपैयाँका दरले राहत र एक लाख रुपैयाँका दरले किरिया खर्च प्राविधिक शिक्षालयले दिने सहमति भएको छ । उक्त सहमतिपछि आन्दोलन बन्द गरेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो ।

सहमतिपछि पोस्टमार्टम गरेर शव बुझ्ने बाटो खुलेको प्रजिअ उपाध्यायले सुनाउनुभयो । दुई पक्षीय वार्तापछि आन्दोलन फिर्ता गरी सोमाबार पोस्टमार्टम गरी शव बुझ्ने सहमति भएको जनाईएको छ ।