रगत परिक्षण गर्दा सिकलसेलको परिक्षण गर्न आबश्यक: स्वास्थ्यमन्त्री यादब


नेपाल समाचारपत्र, बर्दिया ।

नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले यस क्षेत्रका अस्पतालहरुमा बिरामी रगत परिक्षण गर्दा सिकलसेल एनिमियाको रगत परिक्षण गर्न आबश्यक रहेको बताउनु भएको छ ।

प्राय तराईको थारु समुदायमा मात्र पाईने गरेको सिकलसेल रोग फाट्फुट् केही अन्य समुदायको ब्यक्तिमा पनि देखिन आएको चिकित्सकको भनाईप्रति लक्षित गर्दै फाट्फुट्ट देखिएको अबस्था फास्ट पनि हुन सक्छ । त्यसैले यसलाई हरेक ब्यक्तिको रगत परिक्षण गर्दा थारु बाहुल्य यस क्षेत्रका अस्पतालहरुमा सिकलसेलको रगत परिक्षण अनिवार्य रुपमा गरीनु पर्ने सल्लाह दिनु भयो ।

मन्त्री यादबले बर्दियामा सिकलसेल एनिमिया रोग सम्बन्धि बिशेष अस्पताल स्थापना गर्न आबश्यक रहेको बताउनु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकामा सिकल सेल एनिमिया रोग पहिचान, नियन्त्रण र रोकथाम अभियान घोषणा कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

बर्दियामा सिकलसेल एनिमिया रोगको बिशेष अस्पताल स्थापनाको लागि बिज्ञहरुको सल्लाह लिएर प्रक्रिया अगाडी बढाउने बताउनु भएको छ । नेपाल सरकारले सिकलसेल रोग निवारणको लागि बजेटको ब्यबस्था गरीसकेकोले प्रत्येक जिल्लामा सिकलसेल ल्याव टेष्टको स्थापना गरी प्रत्येक ब्यक्तिको रगत परिक्षण गर्ने ब्यबस्था मिलाउने मन्त्री यादबको भनाई छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् नेपालले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा करिब १ बर्ष देखि सिकलसेल रोग परिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त परिक्षण कार्यक्रममा १ बर्ष देखि २९ बर्ष उमेर समुहका २४ हजार ११ जनाको रगत नमुना संकलन गरी परिक्षण गरीएको मध्य १५ हजार ४ सय २ जनाको तथ्याँक बिश्लेषण गर्दा १ हजार ८ सय २ जना अर्थात ११.७ प्रतिशतमा सिकलसेल संक्रमण देखिएको छ । जसमध्य १ हजार ६ सय ९८ जना अर्थात ११ प्रतिशतमा सिकलसेल बहाक र १ सय४ जना अर्थात ०.७ प्रतिशतमा सिकलसेल रोगी भएको तथ्याँक सार्वजनिक गरीएको छ ।

सिकलसेल रोगको उपचार र नियन्त्रणको लागि बारबर्दिया नगरपालिकाले सामाजिक सचेतानाका लागि कक्षा ९ र १० को पाठ्यक्रमा सिकलसेल सम्बन्धि सचेतना पुस्तकको बिमोचन, सिकलसेल सम्बन्धी बृत्तचित्र र ९ महिना पुगेको बच्चाको अनिर्वाय अन्य खोप संगै सिकलसेल रोग परिक्षणका लागि बाल स्वास्थ्य कार्डको मन्त्री यादबले बिमोचन तथा उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा संघीय साँसद संजय कुमार गौतमले थारु समुदायको बाहुल्यता रहेको बर्दिया जिल्लाको उपयुक्त स्थानमा सिकलसेल केन्द्रिय अस्पतालको स्थापना गरीनु पर्ने माग गर्नु भएको हो ।

प्रदेशसभा साँसद तिलकराम शर्मा र कृष्णा केसी, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ (बर्दिया), दाङ जिल्लाको दंगिशरण गाँउपालिका अध्यक्ष भागिराम चौधरी, कैलाली जिल्लाका भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अञ्जली कुमार झाँले मन्तब्य ब्यक्त गर्दै सिकलसेल रोगको पहिचान नियन्त्रण गर्नमा बारबर्दिया नगरपालिकाले गरेको पहल प्रति खुसि ब्यक्त गर्नु भएको थियो ।

बारबर्दिया नगरपालिकाले सिकलसेल रोगलाई नियन्त्रण गर्नको लागि बिभिन्न किसिमका सामाजिक अभियान संचालन गर्ने र सिकलसेल रोगीहरुको उपचार, बच्चाको पढाईलेखाईको पुर्ण रुपमा नगरपालिकाले जिम्मेवारी लिने बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले प्रतिबद्धता जनाउनु भएको छ ।