मिडिया विधेयक कुनै हालतमा पारित हुँदैन: देउवा


यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पास हुन नदिने बताउनुभएको छ।

२००७ सालदेखि प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ल्याइएको उक्त विधेयक प्रजातन्त्रमाथिको हमला भएको बताउँदै सदन अवरुद्ध गरेरै पास हुन नदिने बताउनुभएको हो।

नेपाली कांग्रेस रूपन्देहीले शनिबार रूपन्देहीको तिलोत्तमा नगरपालिका मधवलीयामा आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा सभापति देउवाले न्यायालय, मानव अधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफू अनुकूलका काममा लगाउने गरी विधेयक ल्याइएको उल्लेख गर्नुभयो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र मानव अधिकार, न्यायालयमाथिको हस्तक्षेप नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताउँदै स्वतन्त्र निकायलाई सरकारको मातहतमा ल्याउने काम भए प्रजातन्त्र नै समाप्त हुने भएकाले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने बताउनुभयो। सरकारले हालै ल्याएको बजेट कार्यकर्ता पाल्ने गरी आएको आरोप लगाउनुभयो।

पार्टी महामन्त्री डा। सशांक कोइरालाले पार्टीभित्र फूट नहुने हो भने कुनै शक्तिले पनि कांग्रेसलाई हराउन नसक्ने बताउनुभयो। उहाँले पार्टीको आदर्श, संस्कार र कार्यकर्तालाई एक बनाउन सक्ने हो भने कांग्रेसजस्तो शक्ति अरू कुनै पनि हुन नसक्ने र मुलुकको विकासको आधार पनि बन्न दाबी गर्नुभयो।
केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश पाँचको राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसका लागि बलिदान दिनसमेत तयार रहेको बताउनुभयो।

केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिस्ट मुलुकमा संघीयता नै नरहेको बताउँदै नेपालको कम्युनिस्ट सरकारले पनि मुलुकमा स्थापित संघीयतालाई असफल बनाउने काम गरेको आरोप लगाउनुभयो। उहाँले जनअपेक्षाअनुसार काम नगरेको र जनताका स्थापित अधिकारहरू कुण्ठित गर्ने काम गरेकाले सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभयो।

पार्टी प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार जनभावनाविपरीत अगाडि बढेको बताउँदै सरकारलाई सही ट्र्याकमा ल्याउन कांग्रेसले भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँले एमालेको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद डिजेल र पेट्रोल भएको बताउनुभयो। उहाँले एमाले र माओवादी मिलेर बनेको नेकपामा डिजल र पेट्रोलको मिश्रणले गाडीको इञ्जिन सिज भएजस्तै बहुदलीय जनवाद र माओवादको मिश्रणले नेकपाको इन्जिन सिज हुने टिप्पणी गर्नुभयो।

नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू दीपक गिरी, देवेन्द्रराज कंडेल, संघीय संसद्
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, संघीयसभा सदस्य प्रमोद यादव, प्रदेश सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हीराबहादुर खत्री, महासमिति सदस्य तथा महिला संघ रूपन्देहीकी सभापति गंगा शाही, रूपन्देहीका पार्टी उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, सैनामैना नगरसभापति रामप्रसाद अधिकारीलगायतले पार्टीभित्र गुटउपगुटको अन्त्य गरी कार्यकर्तालाई एकताको सूत्रमा बाँध्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको थियो।